२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


फटाहा, कमिसनखोरलाई जेल हाल्न पछि पर्दैनौं : दाहाल


0
Shares

पूर्वपश्चिम हुलाकी राजमार्गको स्तरोन्नति कार्यको मंगलबार सिरहाको बरियारपट्टिमा शिलान्यास गर्दै उनले ठेक्कापट्टामा हुुँदै आएको ढिलासुस्ती र कमिसनखोरीका कारण देशको विकास निर्माण अस्तव्यस्त भएकाले अब त्यस्तालाई नछाड्निे प्रतिबद्धता व्यक्त गरे ।

अध्यक्ष दाहालले भने–‘सुशासनबिना विकासको कल्पना गर्न सकिँदैन । सुशासन कायम गर्न भ्रष्टमाथि कडा कारबाही गर्नैपर्छ, त्यसका लागि सरकारले कडा कदम चाल्नेछ ।’

राजनीतिक क्रान्ति पूरा भइसकेको बताउँदै उनले अब विकासको नयाँ क्रान्ति गर्दै पाँचदेखि १० वर्षभित्रमा नेपाललाई विश्वकै समृद्ध मुलुक बनाउने धारणा व्यक्त गरे ।

अध्यक्ष दाहालले विगतकोजस्तो कमजोर र अस्थीर अहिलेको सरकार होइन भन्दै ‘नेपालकै इतिहासमा पहिलोपटक हामीलाई बलियो हात दिएर जनताले सिंहदरबर पठाएका छन्, त्यसैले अब हामीले फटाहा, कमिसनखोर र बेथिति बनाउनेलाई जेल हाल्न पछि पर्दैनौं’–भने ।

चुनावका बेला वाम गठबन्धनले साझा घोषणापत्रमार्फत् जनतालाई सुशासन, स्थायित्व, विकास र समृद्धिको आश्वासन बाँडेको उल्लेख गर्दै उनले जनताले विश्वास-भरोसा दिएको र गठबन्धनको झन्डै दुईतिहाइको यो सरकारले अब जनताको त्यो इच्छा र भरोसा पूरा गर्ने दाबी गरे ।

अध्यक्ष दाहालले सिँचाइ र सडक पूर्वाधारको विकास नभएसम्म मधेसमा हरित क्रान्ति केबल हावाको क्रान्तिमात्र हुने टिप्पणी गर्दै सिँचाइ र सडक पूर्वाधारको विकासमा ठोस योजनाका साथ सरकारले काम गर्ने बताए ।

मधेसकै ‘लाइफलाइन’कारुपमा रहेको हुलाकी राजमार्गको स्तरोन्नतिको योजना आफू प्रधानमन्त्री भएकै बेलामा अघि बढेको चर्चा गर्दै उनले अब कुनैपनि बाहानामा हुलाकी राजमार्गको काम नरोकिने बताए ।

अध्यक्ष दाहालले मधेसकेन्द्रित दलरुसँग निरन्तर छलफल गरी संविधान संशोधनको नजिक पुगेको बताउँदै छिट्टै संविधान संशोधन भएर यसप्रतिको मधेसी जनताको असन्तुष्टि अन्त्य हुने विचार व्यक्त गरे ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले मुलुकको विकास र समृद्धिका लागि सबै राजनीतिक दल र त्यसका नेतृत्वले एकै ठाउँमा उभिनुपर्ने बताउँदै ‘राजनीतिक दलको खिचातानीका कारण विकासको बजेट फिर्ता जाने र विकास निर्माण ठप्प हुने प्रवृति देखिएको छ, त्यसलाई सबै दलका नेताले त्याग्नु जरुरी छ’–भने ।

सरकारले पाँच वर्षभित्र देश र मधेसको स्वरुप परिवर्तन हुनेगरी काम अघि बढाउन लागेकाले यसमा सबै दलको सकारात्मक सहयोग आवश्यक भएको पनि उनले बताए ।

मन्त्री महासेठले समयमा काम पूरा नगर्ने ठेक्केदारलाई सरकारले कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै विकास निर्माणमा हुने ढिलासुस्ती र कमिसनखोरी रोक्न दन्ड र पुरस्कारको व्यस्था गर्न लागेकोसमेत बताए ।

प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले सुशासन र विकासको मुख्य बाधक भ्रष्टाचार भएकाले यसको नियन्त्रणका लागि प्रदेश सरकार कडारुपमा प्रस्तुत् हुने दृढता व्यक्त गरे ।

‘भ्रष्टाचार नियन्त्रणमा प्रदेश सरकार कुनै कसर बाँकी राख्दैन’–उनले भने–‘जनताबाट आएको एक/एक पैसाको हिसाब हामी जनतालाई दिन्छौं, भ्रष्टाचार हुन्न दिन्नँ ।’

नेकपा माओवादी केन्द्रका नेता विश्वनाथ साह, प्रभु साह, नेकपा एमालेका केन्द्रीय सदस्य तथा सांसद लिलानाथ श्रेष्ठलगायतले हुलाकी सडक निर्माण समयमै सम्पन्न भए मधेसमा आर्थिक समृृद्धिको बाटो खुल्ने बताए ।

आगामी ३० महिनाभित्र सम्पन्न हुनेगरी सुरु भएको हुलाकी राजमार्गको स्तरोन्नतिको कामको अध्यक्ष दाहालसहित यातायातमन्त्री महासेठ, प्रदेश नम्बर–२ का मुख्यमन्त्री राउत र नेकपा माओवादी केन्द्रका नेता तथा सांसद सुरेशचन्द्र दास यादवले संयुक्तरुपमा शिलान्यास गरेका थिए । रासस