
वर्तमान प्रहरी महानिरीक्षकसँगै एआइजीहरु पनि अवकाश हुने अवस्था रहेकोले डीआइजीहरुमध्ये नै आइजी हुने निश्चित भए पनि को हुने भन्ने टुंगो लाग्न बाँकी छ ।
नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालले यही चैत २८ गतेदेखि अवकाश पाउँदै छन् ।
उनीसँगै १५ जना एआइजी, ९ जना डिआइजी र २ जना एसएसपी पनि सोही दिनदेखि अवकाश पाउँदै छन् । सबै एआईजीहरु एकैसाथ अवकाश पाउने भएपछि डिआईजीबाटै भावी महानिरीक्षक छानिने छन् ।
यसअघि उपेन्द्रकान्त अर्याल झन्डै ४ दिन एआईजी बनेर आईजीपी बनेका थिए । हालका आईजीपी प्रकाश अर्याल पनि डीआईजीबाटै आईजीपी भएका हुन् ।
अहिले रहेका एआईजीहरु र आईजीपी सबै एउटै ब्याचका उत्पादन हुन ।
रोलक्रम अनुसार डिआईजीहरु सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की सबैभन्दा अगाडि छन् । यी तीनै जना अधिकृत प्रहरी संगठनमा निकै चर्चित मानिन्छन् ।
डिआईजीबाट एकै चोटी आईजीपी बन्ने भाग्यमानी प्रहरी अधिकृतमा यी तीन जनामध्ये एक जनाको नाम लेखिने निश्चित जस्तै छ । तीनमध्ये एक जना आईजीपी भएपछि दुई जना एआईजी हुने छन् ।
त्यसैगरी डिआईजीहरु उत्तम कार्की, धिरु बस्नेतलगायतको समूहबाट एआईजीमा बढुवा हुनेछन् ।
अहिले डीआईजी भएकाहरुमध्येबाट १६ जनाको बढुवा भएर एआईजी हुने छन् । त्यस अवस्थामा २७ जना डिआईजीको पद रिक्त हुने छ । अहिले पनि १२ वटा डिआईजीको पद खाली छ ।
यसमा एसएसपीहरु केदार रिजाल, विश्वराज पोखरेल, धिरजप्रताप सिंह, उत्तम सुवेदीलगायतको समूहबाट एकै पटक डिआईजीमा बढुवा हुने अवस्था देखिन्छ ।
नेपाल प्रहरीमा एसएसपीमा ६ वर्ष, डिआईजी र एआईजीमा ५ वर्ष सेवा गरेपछि स्वतः अवकाश हुने व्यवस्था छ ।
नेपाल प्रहरीमा हाल १२ डीआईजी, १७ एसएसपी, २३ एसपी, ४७ डिएसपी र झन्डै एक सय इन्स्पेक्टरको पद रिक्त छ । वर्षौंदेखि रोकिएको सइहरुको बढुवा पनि हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्