कहाँ पुग्यो एकता प्रक्रिया ? (भिडियो) • Image Khabar Image Khabar


कहाँ पुग्यो एकता प्रक्रिया ? (भिडियो)


Imagekhabar
८ चैत्र २०७४, बिहीबार १८:१०

कहाँ पुग्यो एकता प्रक्रिया ? (भिडियो)

कार्यदलका सदस्यहरु नै मन्त्री बनेपछि खाका निर्माण गर्न समय दिन नसकेपछि काम सम्पन्न नगरी थपिएको समय गुज्रेको हो ।

थप समयमा काम सम्पन्न गर्न नसकेपनि दुवै कार्यदलले यही चैत १२ गते पार्टी एकताको खाका पार्टी एकता समायोजन समितिलाई बुझाउने तयारी गरेको छ ।

दुई पार्टी एकताको खाका तय गर्न गठित दुवै कार्यदलका अधिकांश सदस्य मन्त्री बनेपछि खाका निर्माण प्रभावित भएको हो ।

मन्त्रीहरुले पार्टी एकताको खाका निर्माणमा समय दिन नसकेपछि दोस्रोपटक थपिएको समय पनि गुज्रिएको हो । दोस्रोपटक थपिएको समयमा कार्यदलको बैठक एकपटकमात्र बस्यो ।

थपिएको समय सकिएपनि कार्यदलले अझै जिम्मेवारी पूरा गर्न सकेको छैन ।

दुई कार्यदलमध्येका एक राजनीतिक तथा वैचारिक कार्यदलका सदस्य देवेन्द्र पौडेल सरकार विस्तारलगायतका कामले कार्यदलको काम प्रभावित भएको बताउँछन् ।

यो कार्यदलले पार्टीको मार्गनिर्देशक सिद्धान्त, नेपालमा कम्युनिष्ट आन्दोलन, विश्व कम्युनिष्ट आन्दोलनलगायतका विषयमा सहमति जुटाइसकेको छ ।

सांगठनिक कार्यदलले भने अझै खाका तय गर्न सकेको छैन । दुवै कार्यदलले एकताको खाका पार्टी एकताका लागि बनाइएको दुवै दलका शीर्ष नेता सम्मिलित एकता संयोजन समितिलाई बुझाउने र उक्त समितिले नै अन्तिम रुप दिनेछ ।

गत असोज १७ गते संयुक्त चुनावी घोषणा सार्वजनिक गरेर पार्टी एकता थालेका एमाले र माओवादी केन्द्रले लेनिन दिवसको दिन औपचारिकरुपमा पार्टी एकताको घोषणा गर्ने तयारी गरेका छन् ।

एकता संयोजन समितिले फागुन ७ गते एकताको सात आधारमा सहमति जुटाउँदै पार्टी एकताका लागि राजनीतिक तथा सांगठनिक खाका तय गर्न दुई कार्यदल बनाएको थियो ।

फागुन ८ गते बसेको संयोजन समितिले फागुन २५ गतेभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएपनि काम नसकेपछि ५ चैतभित्र बुझाउने गरी १० दिनको समय थपिएको थियो ।

कार्यदलका ११ सदस्यमध्ये सात सदस्य मन्त्री बनेका छन् । कार्यदल संयोजकसहित बहुमत सदस्य मन्त्री बनेपछि उनीहरु एकताको खाकाभन्दा पनि मन्त्रालयको काममा व्यस्त हुँदा तोकिएको समयमा काम सम्पन्न हुन नसकेको हो ।

पार्टी एकताको सांगठनिक र वैचारिक खाका तयारीमा भएको ढिलाइले पार्टी एकता प्रक्रिया लम्बिनसक्ने देखिएको छ ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्