खोइ पानी ? सुक्यो ! (भिडियो रिपोर्ट) « Image Khabar


खोइ पानी ? सुक्यो ! (भिडियो रिपोर्ट)


Imagekhabar
८ चैत्र २०७४, बिहीबार २०:००

तर, यस्ता कार्यक्रमहरुले न पानीका स्रोतको संरक्षण नै गर्न सकिएको छ न त पानीको अभाव भोग्दै आएकाहरुलाई कुनै सहयोग नै पुग्ने गरेको छ ।

काठमाडौंको सुन्धारा । कुनै समय त्यो ढुंगेधाराबाट टोलवासी र वरिपरिका बासिन्दाले खानेपानीको गर्जो टार्थे ।

तर, अहिले परिस्थितिमा परिवर्तन आएको छ । ढुंगेधाराहरु सुक्खा छन् र ती धारामा विगतमा पानी आउँथ्योभन्दा नयाँ पुस्ताले पत्याउन नसक्ने अवस्था बनेको छ ।

सुन्धारामात्र होइन, उपत्यका अधिकांश ढुंगेधाराको अवस्था यस्तै छ । ऐतिहासिक र पुरातात्विक महत्वका ढुंगेधारा इतिहासको चिनारीजस्तोमात्र बनेका छन् ।

कुनै–कुनै ढुंगेधाराहरुमा वर्षायाममा पानी आउने गरेपनि अधिकांश ढुंगेधाराहरु बाह्रै महिना सुक्खा हुने गरेका छन् ।

केही दशकयता उपत्यकाबासीहरु पानीको समस्या व्यहोर्न बाध्य छन् भने भूमिगत पानी नै उनीहरुको आधार बन्दै आएको छ ।

तर, मापदन्डबिना गाडिएका बोरिङ, आधुनिक प्रविधिबाट निर्माण गरिएका घरहरु, बढ्दो सहरीकरण र मुहान संरक्षण नहुँदा ढुंगेधाराको दुरावस्था बनेको बताउँछन्, इतिहासविद् डा. त्रिरत्न मानन्धर ।

पानीको स्रोत संरक्षणका लागि अहिले पानी आइरहेका ढुंगेधाराका मुहानहरु पत्ता लगाएर त्यस स्थानमा कुनैपनि संरचनाहरु बन्न दिन नहुने डा. मान्नधरको सुझाव छ ।

अहिले उपत्यकावासीका लागि दैनिक ४२ करोड लिटर पानीको आवश्यकता रहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेडका महाप्रबन्धक डा. महेशप्रसाद भट्टराई बताउँछन् ।

तर, सुक्खायाममा प्रतिदिन १० करोड लिटर र वर्षायाममा १५ करोड लिटरमात्र पानी वितरण गर्दै आइरहेको छ ।

केयुकेएलका महाप्रबन्धक भट्टराईले मेलम्ची खानेपानी आयोजना सम्पन्न भएपनि त्यसबाट १७ करोड लिटर पानीमात्र वितरण गर्नसकिने बताए । मेलम्चीपछि समस्या कम हुने तर पूरै नहट्ने उनको भनाइ रहेको छ ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्