साउदी अरबमा नेपाली कामदारलाई ब्लडमनी माफी • Image Khabar Image Khabar


साउदी अरबमा नेपाली कामदारलाई ब्लडमनी माफी


Imagekhabar
१२ चैत्र २०७४, सोमबार ०६:२४

साउदी अरबमा नेपाली कामदारलाई ब्लडमनी माफी

काठमाडौं, चैत १२ । बंगाली सहकर्मीको हत्या अभियोगमा सजाय सुनाइएका लाग्दी गदियानी–९, सिरहाका सुरेश मण्डललाई साउदी अरबको अदालतले सजायमुक्त गरेको छ ।

९ वर्षअघि सडकमा माटो सम्याउने क्रममा मण्डलले चलाएको गाडीले ठक्कर दिँदा बंगाली सहकर्मी रफिकुल इस्लामको ज्यान गएको थियो ।

अदालतले तोकेको ब्लडमनी (दिया रकम) नलिई पीडित परिवारले माफी दिएपछि सुरेश गत बुधबार सजायमुक्त भएका हुन् ।

‘माटो सम्याउँदा अगाडि रहेका इस्लामलाई देखिनँ । त्यो दुर्घटना अन्जानमा भएको थियो,’ मण्डलले भने, ‘काम गर्ने क्रममा भएको दुर्घटनामा जिम्मेवारी लिनुपर्‍यो । मेरो अनुरोधलाई इस्लामको परिवारले ब्लडमनी नलिने निर्णय गरेपछि मैले न्याय पाएँ ।’

अदालतले पीडित परिवारलाई तीन लाख रियाल दिनुपर्ने फैसला सुनाएको थियो ।

साउदीस्थित नेपाली दूतावास मण्डलका पक्षमा अदालतमा लड्दै आएको थियो । दुर्घटना भएपछि मण्डललाई जुवेलस्थित जेलमा ७ वर्ष ६ महिना राखिएको थियो ।

इस्लामको परिवारले ब्लडमनी नलिई माफी दिँदा आफूले नयाँ जीवन पाएको र नेपाल फिर्ने बाटो खुलेको मण्डलले बताए ।

‘अदालतले फैसला गरेको रकम दिन सक्ने हैसियतमा थिइनँ । सबैको सहयोग र मेरो अनुरोधलाई इस्लामको परिवारले बुझिदिए,’ उनले भने । –कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्