Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु


0
Shares

काठमाडौं । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ । ‘लैंगिक हिंसा र दुव्र्यवहार, छैन हामीलाई स्वीकार’ भन्ने मूल नाराका साथ १६ दिने अभियान सुरु भएको हो ।

नेपालमा २०५४ सालदेखि महिला तथा बालिकाको मानव अधिकारको संरक्षण गर्न, उनीहरुको सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न तथा विकासको समान साझेदारको रुपमा स्थापित गरी लैंगिक समानता कायम गर्न नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैंगिक हिंसाविरुद्धमा विविध सचेतनामूलक कार्यक्रम गरिँदै आएको छ ।

संघीय सरकारका मन्त्रालय, सातवटै प्रदेश सरकार, सबै जिल्ला समन्वय समितिले विभिन्न कार्यक्रम गरी सामाजिक सचेतना अभियान संचालन गर्ने महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले जनाएको छ ।

यसैबीच लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले एक सन्देश जारी गर्दै नेपालले महिला हक, अधिकारको संरक्षणमा ठूलो उपलब्धि हासिल गरेको बताएका छन् ।

मानव अधिकारको विश्वव्यापी घोषणा १९४८, राजनीतिक तथा नागरिक एवं आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अनुवन्ध १९९६ र महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य गर्ने महासन्धी १९७९ को नेपाल पक्ष राष्ट्र भएकाले यी महासन्धीको सरकारले पूर्ण पालना गर्ने प्रधानमन्त्री ओलीले प्रतिवद्धता जनाएका छन् । 

प्रधानमन्त्री ओलीले सरकारले महिलाविरुद्ध हुने सबै किसिमका हिंसाप्रति शून्य सहनशिलताको नीति अवलम्बन गरेको स्पष्ट पारेका छन् ।