२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


निर्मलाका बाबु यज्ञराजलाई गाडीबाटै काठमाडौं लगियो


0
Shares

-बिराज रोस्यारा/ईमेज

कैलाली । निर्मला पन्तका बुवा यज्ञराज पन्तलाई बेहोस् बनाएर गाडीबाट काठमाडौं लगिएको छ ।

असामान्य व्यहार देखाएपछि सेती अञ्चल अस्पतालमा बेहोस बनाएर अबेर राति काठमाडौं लगिएको हो । यसअघि विमानबाट काठमाडौं लैजाने प्रयास असफल भएको थियो ।

विमानस्थलमा बर्बराउने, मनपरी हिंड्ने लगायतका असामान्य व्यवहार देखाएपछि सुरक्षाका कारण उनलाई विमान कम्पनीले लग्न नमानेको हो ।

निर्मलाका बुवा, आमा र दुई जना आफन्तलाई काठमाडौं पठाउन लागिएको थियो ।

सुरक्षाका कारण विमानबाट काठमाडौं पठाउन नसकिएपछि जिप भाडामा लिएर पठाइएको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले बताए ।

चारै जनालाई बुद्ध यअरको बेलुकीको उडानबाट काठमाडौं पठाउन लागिएको थियो ।

बुद्ध एयर धनगढी शाखा प्रमुख बुधराम माझीले एक जनाका कारण अन्य यात्रुलाई समेत जोखिम हुने देखेपछि उहाँलाई नलगिएको बताए ।

यात्रुसँग असामान्य व्यवहार गर्ने, बर्बराउने, मनपरी हिंड्नेजस्ता व्यवहार गरेकोले सुरक्षाका कारण लग्न नसकिएको उनले बताए ।

एक जना यात्रुका कारण विमानका सबै यात्रुलाई जोखिम हुने देखेपछि पठाउन नसकिएको माझीले बताए ।

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी शंकर बिष्टले यज्ञराजमा मानसिक समस्या देखिएपछि  चिकित्सकले काडमाडौँ लैजान सुझाव दिएको बताए ।

छोरीको न्यायका लागि धर्नामा बसेका निर्मलाका बुवा यज्ञराजमा तीन दिनदेखि मानसिक समस्या देखिएको थियो ।

निर्मलाको परिवार १४ दिनदेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि धर्नामा बसेका थिए ।

१० साउनमा साथीको घर गएकी १३ वर्षीया बालिका निर्मलाको बलात्कार पछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।