
दुई महिनादेखि भइरहेको तयारी अन्तिम चरणमा पुगेको क्युरेटर अजय पाण्डेयले जानकारी दिए ।
मैदानमा रहेका खाल्डाखुल्डी सम्याउने काम सम्पन्न भएको बताउँदै पाण्डेय पिच निर्माणको कार्य पनि सम्पन्न हुने अवस्थामा रहेको जानकारी दिए ।
मैदानमा घाँस कटिङको कार्य भइरहेको र दुई/तीन दिनभित्रै मैदान पूर्णरुपमा तयार पारेर प्रतियोगिता आयोजकलाई हस्तान्तरण गर्ने उनले बताए ।
प्रदेश नम्बर–७ को संघीय प्रहरी इकाइ कार्यालयको मैदानमा हुने डीपीएललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले मान्यता प्रदान गरिसकेको छ ।
प्रतियोगिता खेल्ने पिच र मैदान अन्तर्राष्ट्रिय मापदन्डअनुसारको रहेको क्युरेटर पाण्डेयले जानकारी दिए ।
पिच निर्माणमा धनगढीको जालीमा पाइने कालो माटो प्रयोग गरिएको छ । उक्त माटो पिचका लागि स्तरीय रहेको भारतको मुम्बईबाट गुणस्तर अवलोकन गर्न आएका क्युरेटरहरुले बताएको उनले जानकारी दिए ।
केही दिनअगाडि दुईजना क्युरेटर मैदान र पिच अवलोकन गर्न आएका थिए ।
प्रतियोगिताको समग्र तयारी द्रुतगतिमा भइरहेको जनाइएको छ ।
खेलाडी र अफिसियल व्यवस्थापनका लागि होटल बुक गर्नेसहित स्पोन्सरको काम सम्पन्न भइसकेको आयोजक धनगढी क्रिकेट एकेडेमीका निर्देशक प्रकाश खड्काले जानकारी दिए ।
खड्काकाअनुसार बढ्दो क्रिकेट क्रेजको अवस्थालाई मध्यनजर गरेर यो वर्ष मैदानको चारैतिर प्यारापिट निर्माण गरिनेछ ।
साढे ६ हजारदेखि ७ हजारसम्म दर्शक अटाउन सकिने अस्थायी प्यारापिट निर्माण हुने त्यसको तयारी सुरु भइसकेको खड्काले जानकारी दिए ।
प्रतियोगिताको विजेता टिमले निजी क्षेत्रबाट सन्चालित प्रतियोगितामध्ये अहिलेसम्मकै सबैभन्दा बढी २५ लाख नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछ ।
प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल प्लेयर’लाई एउटा सुनको जुत्ता र ‘प्लेयर अफ द सिरिज’लाई एकथान मोटरसाइकल प्रदान गरिने आयोजकले जनाइएको छ ।
प्रतियोगितामा ६ ओटा टिमहरु टिम चौराहा धनगढी, सीवाइसी अत्तरिया, कन्चनपुर आइकोनिक, काठमाडौं गोल्डेन्स, रुपन्देही च्यालेन्जर्स र विराटनगर किंग्सको सहभागिता रहेको छ ।
प्रतिक्रिया दिनुहोस्