कन्चनपुर । जहाजमा चढ्न नदिएपछि छोरीका हत्यारा सार्वजनिक गर्न माग गर्दै धर्नामा बसेका बेला बिरामी परेका निर्मलाका बुबा यज्ञराज र उनका आफन्त कैलालीको गेटा विमानस्थलमै अलपत्र परेका छन् ।
उपचारका लागि काठमाडौं लैजान विमानस्थल पुर्याइएका उनलाई एयरलाइन्सले विमानमा चढाउन नमानेका कारण अलपत्र परेका हुन् ।
छोरीका हत्यारा पत्ता लगाउनुपर्ने माग गर्दै दुई सातादेखि जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना बसेका उनलाई शनिबार साँझ बुद्ध एयरलाइन्सको विमानबाट काठमाडौं लैजाने तयारी थियो ।
त्यहीअनुसार श्रीमती दुर्गादेवीसँग २ जना अन्य आफन्तसहित साँझ कैलालीको गेटा विमानस्थल पुगेका थिए ।
तर एयरलाइन्सका कर्मचारीले यो रूप देखाएका व्यक्तिलाई विमानमा चढाउन नसकिने भनेपछि पन्त परिवार विमानस्थलमै अलपत्र परे ।
‘एयरलाइन्सका कर्मचारीले जहाजमा चढ्न दिएनन्, अन्त जान कुनै साधन पाइएन,’ यज्ञराजलाई उपचारका लागि लैजान लागेका उनका भिनाजु गजाधर भट्टले भने, ‘टिकट काटेर पनि जहाजमा चढ्न दिएनन् ।’
उनले अनुमति दिए आफ्नै खर्चमा गाडीको व्यवस्था गरेर भारततिर लैजान तयार रहेको बताए ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले यज्ञराजलाई थप उपचारका लागि जहाजबाट काठमाडौं लैजान ४ जनाको टिकटको व्यवस्था गरेको थियो ।
यज्ञराजसँगै उनकी श्रीमती दुर्गादेवी, भिनाजु गजाधर र भाइ ईश्वर जोशीका लागि टिकट काटिएको थियो । तर साँझ अबेरसम्म पनि प्रशासनले कुनै व्यवस्था नगर्दा उनीहरू विमानस्थलमै अलपत्र परेका थिए । -कान्तिपुर दैनिकबाट




प्रतिक्रिया दिनुहोस्