
जनचेतनाको अभाव र स्थानीयको हेलचेक्र्याइँका कारण ताप्लेजुङमा वर्षेनि वनजंगलमा हुने आगोलागीका घटनामा वृद्धि हुँदै गएको छ ।
गत आर्थिक वर्षमा जिल्लाका विभिन्न ८ ओटा वनमा आगोलागी भएकोमा चालू आर्थिक वर्षको १२ महिना नबित्दै पाँचओटा सामुदायिक, दुईओटा निजी र एउटा राष्ट्रिय वनमा आगोलागी भएको छ ।
वनजंगलमा हुने आगोलागीले वन पैदावरमा क्षति पुग्नुका साथै मृग, सालक, दुम्सीलगायतका लोपोन्मुख वन्यजन्तुको बासस्थान विनास हुने गरेको छ ।
यस्तै, बहुमूल्य बोटबिरुवा लौठसल्ला, फलाँट, लालीगुराँस र विभिन्न जडिबुटीलगायतका वनस्पतिसमेत आगोलागीले नस्ट हुने गरेको जिल्ला वन कार्यालयका सूचना अधिकारी सोमेश्वरकुमार दास बताउँछन् ।
लामो समय पानी नपर्नु, खडेरी पर्नुजस्ता कारणले केही आगोलागीका घटना हुने गरे पनि स्थानीयले जानाजान क्षणिक फाइदाका लागि वनजंगल र भीरपाखामा डढेलो लगाउने गरेकाले यस्ता घटनामा वृद्धि भएको सूचना अधिकारी दासको भनाइ छ ।
डढेलो लगाउनाले चरन क्षेत्रमा घाँस पलाउने, अन्नबाली उब्जाउनका लागि मल लाग्ने भएकाले पनि भीरपाखामा आगो लगाउँदा आगोलागी घटना बढेको स्थानीय बताउँछन् ।
वनजंगलमा हुने आगोलागीले नजिकका घर, बस्तीसमेत जोखिममा परेका छन् ।
प्रतिक्रिया दिनुहोस्