१६ भाद्र २०८२, सोमबार | Tue Sep 2 2025


हेटौंडा अस्पतालमा पहिलो पटक दुरबिनको सहायताले पत्थरीको सफल शल्यक्रिया


0
Shares

हेटौंडा । मकवानपुर जिल्लाको एकमात्र सरकारी अस्पताल ’हेटौंडा अस्पताल’मा पहिलो पटक दुरबिनको सहायताले पत्थरीको सफल शल्यक्रिया गरिएको छ ।

ल्याप्रोस्कोपी मेसिनको प्रयोग गरि पेटमा प्वाल बनाई हेटौंडा-२ निवासी ४८ बर्षिया भवानी खड्की को पित्त थैलीको पत्थरी निकाल्न डाक्टर सफल भएका हुन् ।

खड्कीको पित्त थैलीमा रहेको २० एमएमको ढुंगा प्वाल पारेर निकालिएको हेटौडा अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. प्रविन श्रेष्ठले बताए ।

डाक्टर श्रेष्ठको नेतृत्वमा डाक्टर सुवास लामिछाने,राजु सेढाई, साजित अन्सारी लगाएतको टोलीले शैल्यक्रिया गरेको हो ।

शैल्यक्रिया गर्ने मेसिन पहिलेदेखि नै अस्पतालमा रहेको तर उक्त मेसिनको प्रयोग नहुदा बिरामी सेवा लिनबाट बन्चित हुनुपरेको थियो ।

आफु आएपछि बर्षौदेखि थन्किएर बसेका विभिन्न मेसिनहरु संचालनमा ल्याइएको मेसु डा. श्रेष्ठ बताए ।

प्रयोग नै नगरिएको कोलोनोस्कोपी र इन्डोस्कोपी मेसिन पनि अहिले संचालनमा आएको र बिरामीले सेवा लिन थालेको डा. श्रेष्ठले जानकारी दिए ।

८ महिना अघिदेखि बिग्रिएको थाईराइड जाचगर्ने मेसिन र रगतको जाच गर्ने अटोमेटिक एनेलाइजर पनि संचालनमा आइसकेको श्रेष्ठले बताए ।

जनशक्ति भए हेटौंडा अस्पतालमा आइसीयु पनि संचालन गर्न सकिने श्रेष्ठको भनाइ छ ।

१२ जना नर्स र ६ जना डाक्टर थप्ने हो भने अस्पतालमा आइसीयुको पनि व्यवस्था गर्न सकिन्छ उनले भने ।

प्रदेश ३ को अस्थायी राजधानी समेत रहेको हेटौंडाको यस सरकारी अस्पताललाई मकवानपुरवासीले रिफर अस्पतालको उपमा दिएका छन् ।

अस्पताल भित्रै कर्मचारी बीच राजनैतिक किचलो त कहिले उपचारका लागि राखिएको मेसिन कर्मचारीले नै फुटाउने लगाएतका हर्कतले गर्दा हेटौडा अस्पतालको बद्नाम भएको भएपनि मेडिकल सुपरी टेन्डेन्टका रुपमा डा. प्रविन श्रेष्ठ आएपछि थन्किएर बसेका मेसिनहरु संचालनमा ल्याई बिरामीले सेवा/सुविधा पाउन थालेपछि भने हेटौंडा अस्पताल सुधार हुदैछ र यहाँबाट बिरामीले सेवा पाउँछन् भन्ने कुरामा आशा पलाएको छ ।