३० असार २०८२, सोमबार | Tue Jul 15 2025


मदन भण्डारीको जिप दुर्घटनाबारे सत्यतथ्य बाहिर नआउनु दुःखद् : राष्ट्रपति


0
Shares

मोरङको उर्लाबारी नगरपालिका–३, स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानले निर्माण गरेको ‘मदन भण्डारी संग्रहालय’ को शुक्रबार अपराह्न उद्घटन गर्दै राष्ट्रपति भण्डारीले संग्रहालय उद्घटन गर्दा विगतका घटना सम्झेर दुःख लागे पनि संग्रहालय निर्माण हुनु सुखद भएको बताउँदै संग्रहालयको संरक्षणमा सरकारले ध्यान दिनुपर्ने बताइन् ।

राष्ट्रपति भण्डारीले राज्यस्तरबाटै यसको संरक्षण र प्रवद्र्धनको अपेक्षा आफूले गरेको स्पस्ट गरिन् ।

राष्ट्रपति भण्डारी जननेता मदन भण्डारीकी धर्मपत्नी हुन् ।

संग्रहालयले पर्यटन प्रवद्र्धनमासमेत सहयोग पुर्‍याउने बताउँदै राष्ट्रपति भण्डारीले संग्रहालय वरिपरिको वातावरण पनि दर्शकमैत्री बनाउन आवश्यक रहेकामा जोड दिइन् ।

‘मदन भण्डारी संग्रहालय विद्वानका लागि एउटा स्रोतस्थल र सर्वसाधारणका लागि खुला पाठशाला हुनेछ’–राष्ट्रपति भण्डारीले भनिन्–‘यसको संरक्षण र सम्वद्र्धन गर्दै यसलाई सिंगो समाजको सामाजिक सम्पत्तिकारुपमा विकास गरिनुपर्छ । संग्रहालयमा संरक्षित वस्तुहरु मासिन र बिग्रन नदिन आवश्यक प्रबन्ध मिलाउनुपर्छ, यसका लागि रेखदेख र सन्चालनमा संलग्न जनशक्तिलाई यथोचित तालिम दिनुपर्छ ।’

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले संग्रहालयले नयाँ पुस्तालाई मदन भण्डारीकाबारेमा थप जिज्ञासु बनाउने बताए ।

प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले स्मृति प्रतिष्ठानलाई प्राविधिक शिक्षाको केन्द्र बनाइने आश्वासन दिए ।

स्मृति प्रतिष्ठानका अध्यक्ष गुरुप्रसाद बरालले प्रतिष्ठानलाई प्रौद्योगिक विश्वविद्यालय बनाउन संघीय संसदमा विधेयक विचाराधीन रहेकाले त्यसलाई पारित गर्न सरकार र सांसदहरुलाई आग्रह गरे ।

तत्कालीन नेकपा एमालेका महासचिव भण्डारीबारे युवापुस्तालाई जानकारी दिने उद्देश्यले पुरातत्व विभागको आर्थिक सहयोगमा प्रतिष्ठानले संग्रहालय निर्माण गरेको हो ।

संग्रहालयमा जननेता भण्डारी जन्मेदेखि दासढुंगा दुर्घटनासम्मका सामग्री राखिएको छ ।

रु तीन करोडको लागतमा निर्मित संग्रहालय यही चैत १८ गतेदेखि सर्वसाधारणका लागि खुला गरिनेछ । रासस