३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


भारतमा नेपाली किशोरी तस्करी, पाँच बर्षमा ५०० प्रतिशतले बृद्धि


0
Shares

काठमाडौं, चैत १८ । भारतमा बेचिने नेपाली किशोरीको संख्या सन् २०१३ यता पाँच सय प्रतिशतले बढेको एक अध्ययनले देखाएको छ ।

सन् २०१३ मा नेपाल–भारत सीमाबाट १ सय ८ किशोरी तथा बालबालिकाको उद्धार गरिएकोमा २०१७ मा ६ सय ७ किशोरीको उद्धार गरिएको तथ्य भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले सार्वजनिक गरेको हो ।

एसएसबीले ‘भारत–नेपाल सीमामा मानव तस्करी’ विषयमा गरेको अध्ययनले नेपालबाट भारतमा किशोरीको तस्करी भयावह देखाएको हो ।

तस्करीमा परेका नेपाली किशोरी दिल्ली, मुम्बई, कोलकातालगायत सहरका वेश्यालयमा भारु ५० हजारसम्ममा बेचिने गरेको एसएसबीको रिपोर्टलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले समाचार लेखेको छ ।

भारतमा हुने अधिकांश बालबालिका तथा महिला तस्करीको मुख्य स्रोत नेपाल नै बनेको छ ।

एसएसबीले जनाएअनुसार तस्करीमा परेका उनीहरूलाई वेश्यावृत्ति, घरेलु काम तथा अन्य प्रकारका शोषणयुक्त श्रममा जबर्जस्ती लगाइने गरेको छ ।

कतिपय अवस्थामा उनीहरूको शरीरका विभिन्न अंग निकालेर गैरकानुनी रूपमा बिक्री गर्ने गरेको डरलाग्दो तथ्यसमेत एसएसबीले प्रस्तुत गरेको छ ।

नेपालको महिला तथा समाज कल्याण मन्त्रालयको तथ्यांकअनुसार नेपालका २६ जिल्ला मानव तस्किरीको मुख्य निसानामा छन् ।

यही तथ्यांकलाई उद्धृत गर्दै एसएसबीले पहाडी क्षेत्र तथा दलित समुदायका महिला तथा बालबालिकाहरू मानव तस्करीको ठूलो जोखिममा परेको जनाएको छ ।

कथित माथिल्लो जातिमा पर्ने महिला तथा बालबालिकासमेत तस्करीमा पर्ने गरेको जानकारी एसएसबीले दिएको छ । –नयाँ पत्रिका दैनिकबाट