१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


हुम्लाको तथ्यांक हेर्ने कार्यालय बाजुरामा


0
Shares

देशभरि ३३ जिल्लामा जिल्ला कार्यालय रहेको भए पनि हुम्ला जिल्लामा हालसम्म सो कार्यालय स्थापना समेत नहुँदा बाजुरामा रहेको कार्यालयले हुम्लाको समेत काम गर्दै आएको तथ्यांक अधिकृत खेमराज भट्टले जानकारी दिए ।

बाजुरा जिल्लामा २०५० सालमा स्थापना भएको तथ्यांक कार्यालयले हुम्ला जिल्लालाई समेत हेर्दै आएको जनाइएको छ । हुम्लामा वर्षको एकपटक मात्र जिल्लामा कर्मचारी खटाइ हुम्लाको काम गरिरहेको अधिकृत भट्टले बताए ।

बाजुरा हुम्ला जिल्लासँग दक्षिणतर्फ सिमाना जोडिएको भए पनि यातायातको असुविधाका कारणले हुम्ला जिल्लामा आउन–जान समस्या छ । विगतका वर्षमा पैदल आएर काम गरे पनि ७ दिनको मात्र दैनिक भ्रमण भत्ताले हुम्लामा पुग्न र फर्किन सम्भव नहुँदा हाल नेपालगञ्ज हुँदै हवाईजहाजबाट हुम्ला सिमकोट आउनु पर्ने भएकाले पटके कार्यक्रम गर्नु परेको भट्टले बताए ।

यस वर्ष हुम्ला जिल्लाको प्रोफाइल र ब्रोसर निकाल्ने योजना रहेकोले हुम्लामा भर्खरै अस्थायी रुपमा स्थापना भएको जिल्ला आर्थिक गणना कार्यालयमा खटिएका कर्मचारीलाई तथ्यांक संकलनको समेत जिम्मा दिएको जनाइएको छ ।

जिल्लाको आर्थिक विवरण राजस्व जस्ता स्थानीय आयश्रोतको संकलन गर्दै आए पनि विगतमा जिविस, जिल्ला प्रशासन र मुख्य सरकारी कार्यालयसँग समन्वय गर्न बर्षमा एकपटक हुम्ला आएर विवरण संकलन गरेको तथ्यांक कार्यालय हुम्ला र बाजुराले जनाएको छ । ‘अब प्रदेश नै फरक भइसकेको अवस्थामा बाजुराबाट हुम्ला हेर्न नसकिएला,’ तथ्यांक अधिकृत भट्टले भने ।