धनगढी प्रिमियर लिग : टिम चौराहा धनगढीको पहिलो जित • Image Khabar Image Khabar


धनगढी प्रिमियर लिग : टिम चौराहा धनगढीको पहिलो जित


Imagekhabar
१९ चैत्र २०७४, सोमबार १३:२६

धनगढी प्रिमियर लिग : टिम चौराहा धनगढीको पहिलो जित

सोमपाल कामीको कप्तानी पारीका कारण धनगढी टिम चौराहाले प्रतियोगितामा पहिलो जित निकालेको छ । पहिलो खेलमा काठमाडौ गोल्डेनसँग ७ विकेटले पराजित भएको चौराहाले आज सिवाईसी अत्तरियालाई ३ विकेटले पराजित गरेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको सिवाईसी अत्तरियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५० रन बनायो । उसका लागि प्रेम तामाङ र बिपिन चन्दले समान २८–२८ रन बनाए भने कुशल भुर्तेलले २५ तथा दिपेन्द्र ऐरीले १९ रन जोडे ।

यस्तै, कृष्ण कार्कीले १४ रन बनाउँदा कप्तान सुवास खकुरेल र गौरभ चितकाराले १३–१३ रनको योगदान गरे ।

सिवाईसी अत्तरियाका कुनै पनि खेलाडीबीच दरिलो साझेदारी नभए पनि उसले राम्रो लक्ष्य दिन सफल भयो ।

बलिङतर्फ ललितराज भण्डारीले ३ विकेट लिए ।

जवाफमा टिम चौराहा धनगढीले १९ ओभर २ बलमा सात विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो । १९ रन हुँदा दुई विकेट गुमाइसकेको चौराहाले ४६ रन हुँदा ४ विकेट खेर फालेको थियो ।

कप्तान सोमपाल कामीले विस्फोटक ३८ रनको पारी खेल्दा चौराहाले जित निकाल्न सफल भयो । धनगढीका लागि विदेशी खेलाडी रोहन मुस्तफाले ४० रन बनाए भने राजेश पुलामी मगरले २५ रनको योगदान गरे । मुस्तफा र पुलामी मगरले पाँचौं विकेटका लागि ४१ रनको साझेदारी गरेका थिए । यस्तै, अस्फाक अहमदले १० रन जोडे ।

प्रतियोगितामा अत्तरियाको पहिलो हार हो ।

आजको दोस्रो खेल १ बजेबाट काठमाडौं गोल्डेन्स र रुपन्देही च्यालेन्जर्सबीच हुने छ ।

प्रतिक्रिया दिनुहोस्