१६ भाद्र २०८२, सोमबार | Tue Sep 2 2025


दाताले दान गरेको रगतमा पनि मोलमोलाई ! (भिडियो)


0
Shares

काठमाडौं, मंसिर ७ । मानव सेवाबाट अभिप्रेरित भएर रगत दान गरिँदै आएको छ । तर, पछिल्लो समय रगत दान गर्नेहरुको रगतमाथि नै मोलमोलाई हुँदै आएको छ । जसले गर्दा निःशुल्क रक्तदान गर्नेहरुको भावनामाथि नै चोट पुगेको छ ।

आफूले दान गरेको रगतमाथि नै मोलमोलाई हुन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ । मानव सेवाको भावनाले निःशुल्क दान गरिएको रगतमाथि पछिल्लो समयमा मूल्य घटाउने र बढाउने काम हुँदै आएको छ ।

रगतको अभावबाट कुनै पनि बिरामीको ज्यान नजाओस् भन्ने पवित्र मनले गरिएको रगत दानमाथि मूल्य घटाउने/बढाउने बार्गेनिङ हुनु राम्रो होइन । तर, रगत भण्डारण, ल्याब टेष्ट, जनशक्ति र आवश्यक भौतिक पूर्वाधारका नाममा व्यक्तिले दान गरेको रगतमाथि शुल्क लाग्दै आएको छ ।

बजारमा रगतको आपूर्ति गर्ने र विभिन्न स्थानमा रक्तदान कार्यक्रम गर्दै आएको ब्लड डोनर्स एसोसिएसनले पनि निःशुल्क रुपमा दान दिएको रगत निःशुल्क रुपमा बिरामीले पाउनुपर्ने माग गर्दै आएको छ । एसोसिएसनका उपाध्यक्ष सूर्यलाल महर्जन दान गरिएको रगतमाथि बार्गेनिङ गर्दा रक्तदान गर्नेको भावनामा चोट पुग्ने बताउँछन् ।

सर्वसाधारणले स्वःस्फूर्त रुपमा दान गरेको रगतमा पहिलेको मूल्यभन्दा अहिले एक सय रुपयाँ बढाइएको छ । एक पोका रगतको सरकारी अस्पतालमा बिरामीले खरिद गर्दा ५ सय ७५ रुपैयाँ तिर्नुपर्छ भने नीजि अस्पतालमा १५ सय रुपैयाँ पर्छ ।

रगतको सर्कुलेसन गर्ने जिम्मेवार निकाय नेपाल रेडक्रस सोसाईटीले रगत भण्डारण, रगतको स्वच्छता परीक्षण र जनशक्तिमा खर्च हुने भएकाले निःशुल्क रुपमा दान गरिएको रगतमा मूल्य निर्धारण गर्नुपरेको जनाएको छ । नेपाल रेडक्रस सोसाईटीका मानवीय मूल्य तथा सञ्चार विभाग प्रमुख दिव्यराज पौडेलले दाताले दिएको रगत किनबेच गर्न नहुने भन्दै निःशुल्क दान गरिएको रगत बिरामीले निःशुल्क पाउने व्यवस्था सरकारले नै मिलाउनुपर्ने बताए ।

तर, सरकारले अहिलेकै अवस्थामा दाताले दिएको रगत निःशुल्क रुपमा बिरामीसमक्ष पुर्‍याउन सकेको छैन । दाताहरुले आफूले दान गरेको रगत निःशुल्क रुपमा बिरामीले पाउनु पर्ने माग गर्दै आएको धेरै भएको छ तर, उनीहरुको मागमाथि कतैबाट सुनुवाइ भएको छैन ।

रगतजस्तो महत्वपूर्ण वस्तुको व्यवस्थापन गर्न सबैको सहयोग जरुरी देखिन्छ । त्यसमा पनि सरकारले दाताले दिएको रगत बिरामीले निःशुल्क पाउने व्यवस्था मिलाई दिए सबै बिरामीलाई राहत मिल्ने थियो ।

भिडियो रिपोर्ट हेर्नुहोस्