
पञ्चकन्या गाउँपालिका वडा नम्बर–४ थप्रेकका भीमबहादुर तामाङ र वडा नम्बर–५ भद्रुटारका सानुवीरे तामाङलाई सर्वोच्च अदालतका न्यायाधीश केदारप्रसाद चालिसे र मीरा खड्काको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरण रिटमा आइतबार निर्दोष रहेको ठहर गर्दै थुनामुक्त गर्न आदेश दिएको हो ।
सर्वोच्चको आदेशमा उनीहरु दुवैजना सोमबार थुनामुक्त भएका छन् ।
चेलबेटी बेचबिखन मुद्दामा नुवाकोट जिल्ला अदालतले २०४२ सालमा १० वर्ष कैद सजाय सुनाएकाले सोही मुद्दामा दोषीको नाम मिलेको भन्दै भीमबहादुरलाई नुवाकोट प्रहरीले गत माघ १० गते पक्राउ गरेको थियो ।
उनको ठेगाना साविक थप्रेक–२ भएपनि दोषी ठहर भएका व्यक्ति थप्रेक–१ का रहेको प्रहरीको मिसिलमा उल्लेख थियो ।
भीमबहादुरका छोरा कमलबहादुरले बुवालाई पक्राउ गरेपछि आफूहरुको अध्ययनसमेत प्रभावित भएको र पारिवारिक पीडा, मानसिक तनाव र बन्दी प्रत्यक्षीकरण मुद्दा दर्ता गर्दा आर्थिक नोक्सान भएपनि न्याय पाउँदा खुसी लागेको बताए ।
यस्तै, २०१५ सालमा चोरी मुद्दामा दोषी ठहर भएको भन्दै २०१८ सालमा जन्मिएका सानुवीरे तामाङलाई प्रहरीले गत फागुन ९ गते पक्राउ गरी अदालतमा बुझाएको थियो ।
प्रहरीले बुझाएलगत्तै दुवैजनालाई ‘दोषी ठहर भएका व्यक्ति’ भएको जिकिर गर्दै अदालतका स्रेस्तेदार महिमानसिंह विष्टले कैदीपुर्जी थमाएर कारागार चलान गरेका थिए ।
सर्वोच्चबाट निर्दोष ठहर भएका ‘नौले’ भनिने सानुवीरे तामाङका छोरा प्रेमबहादुरले आफ्नो बुवाले अपराध नगरेको प्रमाण पेस गर्दागर्दै जिल्ला प्रहरी र अदालतबाट पीडित बनाएपनि अहिलेको सर्वोच्चको आदेशमा न्याय मिलेको बताए ।
नुुवाकोट प्रहरीले न्यायालयको फैसला कार्यान्वयनलाई पुस अन्तिम सातादेखि अभियानकारुपमा सन्चालन गर्दै आएको छ ।
प्रहरीे कारबाहीमा निर्दोष व्यक्ति पक्राउ गरी कैदीपुर्जी दिएको भन्दै केही पीडितहरु बन्दी प्रत्यक्षीकरणमार्फत् न्यायको पहलमा जुटेका छन् । रासस
प्रतिक्रिया दिनुहोस्