कर्मचारीको स्वेच्छिक अवकाश कार्यक्रम रोकियो • Image Khabar Image Khabar


कर्मचारीको स्वेच्छिक अवकाश कार्यक्रम रोकियो


Imagekhabar
२१ चैत्र २०७४, बुधबार ०६:४४

कर्मचारीको स्वेच्छिक अवकाश कार्यक्रम रोकियो

संघीय मामला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले तत्कालका लागि स्वैच्छिक अवकाश प्रक्रिया रोकिएको बताए । कर्मचारी समायोजन ऐन संशोधन नहुँदासम्म अवकाश प्रक्रिया स्थगित गरिएको र संशोधनपछि रोकिने उनले बताए ।

प्रदेश र स्थानीय तहमा समायोजनमा जान नचाहने कर्मचारीका लागि भन्दै शेरबहादुर देउवा नेतृत्वको सरकारले स्वैच्छिक अवकाशको प्याकेज ल्याएको थियो । देउवा सरकारले घोषणा गरेको प्याकेज रोज्दै ९ हजार ५ सय कर्मचारीले स्वैच्छिक अवकाशका लागि निवेदन दिएका छन् । उनीहरुले ७ वर्षको एकमुष्ट पेन्सनसहितको सुविधा पाउँथे । तर, सरकारले राज्यलाई ठुलो आर्थिक भार थपिने भन्दै प्याकेज कार्यान्वयन नगर्ने नीति लिएको हो ।

सामान्य प्रशासन मन्त्रालयले समायोजन ऐनअनुसार स्वेच्छिक अवकाश रोज्नेको नामावली प्रकाशन नगरेर प्रक्रिया रोकिएको जनाएको छ । स्वैच्छिक अवकाश प्रक्रिया अघि बढाउन सरकारले गत २३ चैतमा मन्त्रालयको वेबसाइटमार्फत अवकाश रोज्ने कर्मचारीको नामावली सार्वजनिक गर्नु पर्ने थियो । तर, मन्त्रालयले अवकाश रोज्ने कर्मचारीको विवरण सार्वजनिक गर्ने प्रक्रिया नै रोकिदिएको हो ।

मन्त्री पण्डितले अवकाशका लागि निवेदन दिएका कर्मचारीलाई पनि अब काममै पठाउने तयारी भएको बताए । उनले स्वेच्छिक अवकाश अघि बढ्ने अवस्थामा नरहेको बताए । –नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्