२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


धुर्मुसले भने– अन्तर्राष्ट्रिय क्रिकेट रगंशाला निर्माणका लागि चितवन उपयुक्त


0
Shares

मंगलबार अपरान्ह भरतपुर महानगरपालिका–२० मा रहेको चित्रवन रंगशाला परिसरको अवलोकन तथा निरीक्षणपछि धुर्मुसले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणका लागि खेल मैदानको हिसाबले उपयुक्त भएको बताए । ‘जमिन अत्यन्तै राम्रो छ, रंगशाला निर्माणका लागि धेरै कुराहरु छन्, यो मैदान रंगशाला निर्माणका लागि उपयुक्त छ,’ उनले भने ।

अहिले रंगशालाका लागि संभावित स्थानहरुको अवलोकन र निरीक्षण गरिरहेको भन्दै उनले छिट्टै स्थान छनौट गरिने बताए । ‘आईसीसीको रुल हामीले फलो गर्नुपर्छ, क्रिकेट टेक्निकल गेम भएकाले सबै अध्ययनपछि काम अघि बढाउँछौं,’ उनले भने ।

भरतपुर महानगरपालिकाले गरेको जग्गा उपलब्ध गराउने निर्णय स्वागतयोग्य भएको भन्दै उनले खुशी व्यक्त गरे । ‘भरतपुरले जग्गा दिने घोषणा लगत्तै हामी चितवन आईपुग्यौं, महानगरको पत्र पाउनुभन्दा अगाडि नै हामी यहाँको जग्गा अवलोकन गर्न आइपुग्यौंं,’ उनले भने ।

धुर्मुसले रंगशाला निर्माण समिति बनिसकेकोले सम्बन्धित निकाय, विज्ञ र प्राविधिकको राय सल्लाह सुझाव अनुसार नै रंगशाला निर्माणस्थलको टुंगो लगाउने बताए । ‘अहिले हामी जग्गामात्रै निरीक्षण गरिरहेका छौं, रुपन्देहीको सिद्धार्थ रगंशाला, सैनामैनाको मैदान हेरेर चितवन आएका हौं, अब हेटौंडाका केही स्थान पनि हेर्छौं,’ उनले भने ।

कलाकार धुर्मुसले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणपछि भगवान गौम बुद्ध नेपालमा जन्मिएको भनेर प्रचार गरिरहन नपर्ने बताए । सबैलाई प्रतिनिधित्व गर्ने गरी नै अन्तर्राष्ट्रिय रगंशालाको नाम लर्ड बुद्ध क्रिकेट स्टेडियम (गौतम वुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रगंशाला) राखिएको भन्दै यसले नै विश्वमा नेपाललाई बुद्ध जन्मिएको देश भनेर चिनाउने बताए ।

उनले अहिलेसम्म निर्माणाधीन मुलपानी क्रिकेट रगंशाला पनि निकै उपयुक्त देखिए पनि अन्य स्थानहरुको पनि अवलोकन गरिरहेको बताए ।