Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


नेकपा सचिवालय बैठकमा कार्यदलको प्रतिवेदन पेस


0
Shares

काठमाडौं, मंसिर ६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रदेश कमिटीको एकीकरण र गठनको पूर्णताका लागि सुझाव दिन गठित कार्यदलले प्रतिवेदन पेस गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको नेकपा सचिवालय बैठकमा महासचिव विष्णु पौडेल र नेता रामबहादुर थापा सदस्य रहेको कार्यदलले उक्त प्रस्ताव पेस गरेको हो ।

प्रदेश कमिटीको एकीकरण र गठनको पूर्णताका लागि बिहीबार प्रतिवेदन पेस भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रतिवेदनबारे शुक्रबार दिउँसो बस्ने सचिवालय बैठकमा छलफल हुने कार्यसूची तय गरिएको छ ।

प्रवक्ता श्रेष्ठले प्रदेश कमिटीको एकीकरणको विषयलाई टुंगो लगाएपछि सांगठनिक एकीकरणको विषय अघि बढाइने जानकारी दिए ।

प्रदेश र सांठनिक एकीकरण तथा गठनको अन्तिम निर्णय भने स्थायी कमिटीले गर्ने उनले बताए ।

कार्यदलले पेस गरेको प्रतिवेदनलाई छलफल गरी अन्तिम निष्कर्ष दिइनेछ ।

बिहीबारको बैठकमा सरकारको काम–कारबाहीका विषयमासमेत समीक्षा गर्ने कार्यसूचीमा रहेको थियो । तर, उक्त विषय आजको बैठक प्रवेश नै नगरेको बताइन्छ ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था एवं नेताहरुको व्यस्ततालगायतका कारणले सचिवालयको बैठकसमेत पर सर्दै आएको थियो ।

सचिवालयको बैठकपछि पार्टी स्थायी समितिको बैठक बोलाउने तयारी गरिएको छ । रासस