
नेपालमा शारीरिक रूपले सक्रिय महिला पुरुषहरूमा असामयिक मृत्यु हुने सम्भावना बढी देखिएकाले साइक्लिङ गर्दा ३० प्रतिशतसम्म त्यस्तो जोखिम कम हुने र मुटु रोग, मधुमेह, क्यान्सर, स्ट्रोक आदिजस्ता दीर्घ रोगहरू विकसित हुने सम्भावनामा आधाभन्दा कम हुने हुँदा जिल्लाका दर्जनौं युवा सचेतना फैलाउदैं साइक्लिङमा उत्रिएका हुन् ।
मुटु रोग विशेषज्ञ चिकित्सकहरुले आफूकहाँ मुटु रोग उपचारका लागि आउने धेरैजसो बिरामीलाई नियमित साइकल चलाउने सल्लाह दिन्छन् । साइकल चलाउनुलाई ‘काममै व्यायाम’ बताउँछन् । शारीरिक रूपमा आफूलाई सक्रिय राख्न मर्निङ वाक, जगिङ, दौड, पौडी, पैदल हिँडाइ, ट्रेड मिलमा हिँडाइलगायत जुनसुकै तरिका अपनाउन सकिन्छ । तर, साइक्लिङको विशेष महत्त्व यसर्थ छ कि यो सबैका लागि उपलब्ध र उपयुक्त हुनुको साथै यसमा व्यायामसँगै कार्य सम्पादनसमेत हुन्छ ।
कपिलबस्तु नगरपलिकाका विकाश त्रिपाठीले कपिलबस्तुमा साइक्लिङको शुरुवात गर्दै अहिले दर्जनौं युवा महिला पुरुषहरुलाई यसमा जोडेको बताए ।
नियमित साईकल चलाउँदा मुटु र रक्त नलीसम्बन्धी स्वास्थ्य राम्रो हुने, शरीरको बोसोको स्तर कम हुने, जोर्नीको गतिशीलता बढ्ने, चिन्ता र उदासीपना कम हुने, शारीरिक र मानसिक स्वास्थ्य राम्रो बनाउने, मांसपेशीको शक्ति र लचिलोपन बढाउने, मोटोपना घटाउनुका साथै तौल नियन्त्रण गर्ने, तनावको स्तर घटाउने, हाड बलियो बनाउने र धेरै रोगबाट जोगाउने हुँदा साइक्लिङतर्फ लागेको नासीर गौरीले बताए ।
यस्तै जोर्नीको समस्या भएकाहरू, शारीरिक सन्तुलनको समस्या वा अति वृद्घबाहेक हरेक व्यक्तिले साइकल चलाउन सक्छन् । डाक्टरका अनुसार, मुटु रोगी, उच्च रक्तचाप भएकाहरू, मधुमेहका रोगी, हृदयाघात भइसकेकाहरू लगायत सबैखाले व्यक्तिले सुरक्षित तरिकाले साइकल चलाउन सक्ने हुँदा आफूहरु विभिन्न स्थानमा जागरुकता फैलाउँदै हिडेको सुचिता शाक्यले बताइन् ।
साइकल चलाउँदा शरीरका सबै मांसपेशीहरू सक्रियमात्र नभएर यसको उपयोगसमेत हुन्छ । यसअन्तर्गत हामीले प्याडल चलाउने भएकोले खुट्टाको मांसपेशी सबैभन्दा बढी सक्रिय हुन्छ । यतिमात्र नभई पेट, पिठ्युँ, हात लगायतका मांसपेशीहरूसमेत सक्रिय हुनुका साथै साइकल चलाउनुले सम्पूर्ण शरीरलाई शक्ति प्रदान हन्छ भने चिकित्सकहरुको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्