
राजधानीमा ठूला भनिएका विद्यालयहरुले महानगरपालिकाले निर्धारण गरिदिएको शुल्कको बेवास्ता गर्दै मनोमानीरुपमा शुल्क बढाइरहेका छन् ।
काठमाडौं महानगपालिकाअन्तर्गत्को शिक्षा विभागले चालू शैक्षिक वर्षको शुल्क प्रणाली नै आगामी शैक्षिकसत्रमा पनि लागू हुने भन्दै सम्पूर्ण विद्यालयहरुलाई शुल्कको दर पठाइसकेको छ ।
विद्यालयहरुको भौतिक संरचना, सुविधा, पठनपाठनको अवस्थालगायतका विषयहरुको मूल्यांकनका अधारमा महानगरपालिकाले विद्यालयहरुको वर्गीकरण गरी शुल्क तय गरेको छ ।
जसमा उच्चस्तरीय पठनपाठनसँगै अतिरिक्त क्रियाकलाप गराउने विद्यालयलाई ‘क’ वर्गमा राखिएको छ भने त्यसपछि ‘ख’, ‘ग’ र ‘घ’ वर्गसम्ममा विद्यालयलाई वर्गीकरण गरिएको छ ।
‘क’ वर्गका विद्यालयले प्राथमिक तहमा २ हजार ३६३ रुपैयाँ मासिक शुल्क लिन पाउँछन् भने भने ‘ख’ वर्गका विद्यालयले १ हजार ९६९, ‘ग’ वर्गका विद्यालयले १ हजार ५७५ र ‘घ’ वर्गका विद्यालयलाई मासिक १ हजार १८१ रुपैयाँ शुक्रबार निर्धारण गरिएको छ ।
तर, राजधानीका विद्यालयहरुले यो मापदन्डको पालना गरेका छैनन् । काठमाडौं महानगरपालिका शिक्षा विभागका शाखा अधिकृत बुद्धिप्रसाद भट्टले विद्यालयले अतिरिक्त शुल्क भन्दै अभिभावकसँग ठूलो रकम लिइरहेको बताए ।
आवास, भोजन, यातायात शुल्क, विशेष परीवेक्षण शुल्क भन्दै अभिभावकसँग चर्को मूल्य विद्यालयहरुले लिइरहेका छन् ।
‘क’ वर्गमा राखिएको ललितपुरको युलेन्स, प्रिमियर इन्टरनेसल एकेडेमी, लिटल एन्जल्स, काठमाडौंको पाठशाला, संस्कृति, रोजबडलगायतका विद्यालयले १ कक्षाको भर्ना शुल्क नै करिब एक लाख लिने गरेको पाइएको छ ।
भर्ना, महिनावारी शुल्क र पाठ्यसामग्री शुल्कबाहेक अतिरिक्त शुल्कका लागि दुईतिहाइ अभिभावकको स्वीकृति लिनुपर्ने हुन्छ । तर, न त ती विद्यालयले अभिभावबाट शुल्क निधारणबारे स्वीकृति लिएका छन् न त त्यसबारे सम्बन्धित निकायलाई जानकारी नै दिएका छन् ।
अभिभावकहरु विद्यालयहरुले थमाउने बिल तिर्न बाध्य हुँदै आएका छन् । तर, शिक्षासम्बन्धी सम्पूर्ण जिम्मेवारी पाएको काठमाडौं महानगरपालिकाले यससम्बन्धी कुनै चासो नै देखाएको छैन ।
प्रतिक्रिया दिनुहोस्