१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


दुई हजार ३०० हेक्टर वनमा आगलागी, एकको मृत्यु


0
Shares

वन विभागले दिएको जानकारीअनुसार पहाडी तथा तराईका १३ जिल्लाका १०६ वनमा आगलागी भएको हो ।

सोमध्ये तनहुँको एक वन आगलागी हुँदा तीन हेक्टर, रौतहटका १० वनमा ४४ हेक्टर, मोरङको एक वनमा एक हेक्टर, सिन्धुली १५ वन ३३९ हेक्टर, मकवानपुर १७ वनमा १६५ हेक्टर, ओखलढुंगा पाँच वन ८३५ हेक्टरमा क्षति भएको छ ।

यसैगरी, ताप्लेजुङका दुई वनमा १९५ हेक्टर, इलामका ६ वनमा ३३ हेक्टर, धनकुटाका सात वन २५३ हेक्टर, रसुवाका दुई वन सात हेक्टर, भोजपुरका दुई वन आठ हेक्टर, धादिङमा ३३५ हेक्टर र गुल्मीमा ९० हेक्टर क्षति भएको छ ।

विभागका सहायक वन अधिकृत डम्बरबहादुर भण्डारीले गर्मीसँगै हावाहुरी र गर्मीका कारण वनमा हुने आगलागी बढेको बताए । उनले तनहुँमा वनमा भएको आगलागीले ६९ वर्षीय मोहनबहादुर थापाको मृत्यु भएको जानकारी दिए ।

उनले आगलागी भएका वनमा वनका कर्मचारी, स्थानीय उपभोक्ता, नेपाल प्रहरी, नेपाली सेनामार्फत आगलागी नियन्त्रणमा लिइएको बताए ।

यसका अलावा अर्घाखाँची, बारा, चितवन, दाङलगायतका २५ जिल्लाका वनमा आगलागी भएको तर कति क्षति भयो भन्नेबारेमा आधिकारिक खबर नआइसकेको विभागले जनाएको छ । (रासस)