Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


दुईतिहाइको सरकार सफल भएन भने खतरनाक स्थिति आउनसक्छ : सुजाता


0
Shares

काठमाडौं, मंसिर ६ । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाएकी छन् ।

रिपोर्टर्स क्लब नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उनले दुईतिहाइको बहुमत हुँदा पनि सरकारले विकास निर्माणको काममा उल्लेख्य काम गर्न नसकेको बताइन् ।

‘दुईतिहाइको सरकार सफल भएन भने मुलुकमा खतरनाक स्थिति आउनसक्छ’–उनले भनिन् ।

प्रमुख प्रतिपक्षी दल कांग्रेस कमजोर भएको कारण मुलुकमा भ्रष्टाचार मौलाएको उनको भनाइ थियो ।

पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री कोइरालाले नेपालले छिमेकी मुलुकसँगको सम्बन्ध राम्रो राख्नुपर्ने बताइन् ।

उनले छिमेकी मुलुकसँगको सम्बन्ध राम्रो नराखे मुलुकलाई नोक्सान पुग्ने उल्लेख गरिन् ।

नेत्री कोइरालले पार्टी सभापतिको कार्यशैलीका कारण कांग्रेस कमजोर हुँदै गएको भन्दै पार्टीलाई बलियो बनाउनका लागि कोइरालाहरु एकजुट भएको स्पस्ट पारिन् ।

‘कोइरालाभित्र नेतृत्वकाबारेमा कुनै मनमुटाव छैन । समय आएपछि छलफल गरेर जनमानसमा भिजेको र संगठन हाँक्नसक्ने नेतृत्वलाई अगाडि सार्छौं’–उनले भनिन् ।

केन्द्रदेखि स्थानीयस्तरसम्म संगठन निर्माणका लागि कांग्रेसले ध्यानु दिनुपर्ने उनको भनाइ थियो ।

प्रजातन्त्र बलियो भएमात्र कांग्रेस बलियो हुने भन्दै उनले प्रजातन्त्र बलियो बनाउनका लागि पार्टी एकजुट हुनुपर्ने बताइन् ।

‘कांग्रेस एकजुट भएर अगाडि बढे आगामी निर्वाचनमा विजय हासिल गर्नसक्छ’–उनले भनिन् ।

पार्टी बलियो भएमात्र नेता बलियो हुने नेत्री कोइरालाले बताइन् । रासस