श्रीमतीलाई आगो लगाइ मार्ने प्रयास • Image Khabar Image Khabar


श्रीमतीलाई आगो लगाइ मार्ने प्रयास


Imagekhabar
२२ चैत्र २०७४, बिहीबार २०:४८

श्रीमतीलाई आगो लगाइ मार्ने प्रयास

पर्साको छिपहरमाई गाँउपालिका–४, तुलसिवर्वाकी रविना खातुनलाई उनकै श्रीमान् साविर मियाँ धोबी र सासू–ससुराले जीउमा आगो लगाइ मार्ने प्रयास गरेका हुन् ।

रविनासँग रहेका सुनको गहना लिइ घरबाट निकाल्न खोज्दा उनले ससुराली पक्षको प्रतिरोध गरेपछि ससुराली पक्षले जीउमा आगो लगाइ मार्ने प्रयास गरेको रविनाले प्रहरीलाई जानकारी दिएको प्रहरी नायब उपरीक्षक राजन लिम्बूले बताए ।

यही चैत १३ गते श्रीमान् साविर, ससुरा फरजन मिया धोवी, सासू शोभा खातुनलगायतका ससुराली पक्षले कुटपिट गरी शरीरमा आगो लगाएको घटना बिहीबारमात्र सार्वजनिक भएको हो ।

९ दिनसम्म घरमा लुकाइ राखिएकी रविनाले बिहीबार उम्कन सफल भइ जिल्ला प्रहरी कार्यालयको महिला सेलमा सम्पर्क गरेपछि उनलाई उपचारका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना गरिएको छ ।

रविनाको कम्मरदेखि तल शरीरको दाहिने भाग जलेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

रविनाको दाहिने खुट्टा र कम्मरमा आगोले जलेर भएको घाउ उपचार अभावमा बिग्रिएको चिकित्सकको भनाइ छ ।

रविनाले दिएको उजुरीको आधारमा प्रहरीले अनुसन्धानलाई अगाडि बढाउनुका साथै ससुराली पक्षलाई जिल्ला प्रहरी कार्यालय पर्सामा उपस्थित गराउन मातहतका प्रहरीचौकीलाई निर्देश दिएको नायब उपरीक्षक लिम्बूले जानकारी दिए ।

भारतको दिल्लीमा काम गर्ने रविनाका श्रीमान् साविरले उतै कान्छी राखेको र कान्छीबाट एउटा छोरासमेत रहेको रविनाले प्रहरीलाई बताएको प्रहरीको भनाइ छ ।

विवाह भएको तीन वर्ष बित्दासमेत रविना आमा बन्न नसकेपछि साविरले कान्छी भित्र्याइ घरबाट निकाल्न खोजेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्