२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


संरक्षण र प्रचारप्रसारको पर्खाइमा बाग्लुङको ऐतिहासिक रुद्रताल


0
Shares

नेपालकै एक मात्र शिकार आरक्षका रुपमा ख्याति कमाएको ढोरपाटन जाने बाटोमा नजिकै रहेका कारण यो पर्यटकको आकर्षक गन्तव्य बनेको छ । बुर्तिवाङबाट सडकमार्ग हुँदै जाने पर्यटकका लागि बाटोमा नै ताल पर्ने भएकाले पर्यटकले नछुटाउने गन्तव्य रुद्रताल बनेको स्थानीयवासी बताउँछन् ।

भगवान् शिवको नामबाट नामाकरण गरिएको यो ताल रुद्रावती खोलाको उद्गमस्थल हो । स्थानीय भाषामा भुजिखोलाका नामले पनि चिनिने रुद्रावती खोला बडीगाड हुँदै रुद्रवेणीमा गएर कालीगण्डकीसँग मिसिन्छ । रुद्रताल र मुक्तिनाथबाट निस्केको पानी मिसिएको स्थान रुरु क्षेत्रका रुपमा प्रसिद्ध छ ।

रुरु क्षेत्र नेपालका चारधाम (बराह क्षेत्र, हरिहर क्षेत्र, मुक्ति क्षेत्र र रुरु क्षेत्र) मध्ये एक हो । रुद्रतालमा जनैपूर्णिमाको अवसरमा उत्तरगंगाको जल लगेर पितृ तर्पण दिने गरिन्छ । पितृलाई तर्पण दिएमा पितृहरूको उद्धार हुने र सन्ततिलाई सुख एवं समृद्धि कायम हुने धार्मिक विश्वास छ ।

स्थानीयवासीले रुद्रताललाई धार्मिक आस्थाको महत्वपूर्ण स्थलका रुपमा लिने गरेको उद्योग वाणिज्य संघ, बुर्तिवाङका सदस्य कृष्ण केसीले बताए । ‘ढोरपाटनस्थित ढोर बराहको पूजा यही तालबाट शुरु हुन्छ,’ उनले भने, ‘रुद्रतालको जल नछोएसम्म ढोरबराहको पूजाले पूर्णता नपाउने प्राचीन जनविश्वासका कारण ढोरबराह पूजा गर्न जाने भक्तजनले रुद्रतालमा स्नान गरेर मात्र जाने गरेका छन् ।’

भक्तजनले रुद्रतालको पानीले स्नान गरी देउरालीमा ध्वजा चढाएर मात्र ढोरबराहको पूजा गर्ने प्रचलन रहेका कारण पनि यसको आफ्नै महत्व रहेको उनको भनाइ छ ।

महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्य भएपनि ताललाई व्यवस्थित गर्नेतर्फ राज्यको चासो पुग्न नसकेको उनले बताए ।

ढोरपाटन र आसपासका पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपाल एशोसिएशन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) पश्चिमाञ्चल क्षेत्रीय संघको आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा ढोरपाटन अवलोकन भ्रमण सम्पन्न गरिएको संघका अध्यक्ष सन्तोष पोखरेलले बताए ।

‘ढोरपाटन र आसपासका क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि यही चैत १८ गतेदेखि २१ गतेसम्म पर्यटन सम्बद्ध संस्थाका प्रतिनिधि एवं सञ्चारकर्मीसहित हामीले उक्त क्षेत्रको अवलोकन भ्रमण सम्पन्न गरेका छौँ,’ उनले भने, ‘ढोरपाटनसहित धार्मिक पर्यटकीय महत्वका यहाँका रुद्र ताल, उत्तरगंगा धाम, ढोरबराहजस्ता स्थलको संरक्षण एवं प्रचारप्रसार आवश्यक छ ।’

ताललाई व्यवस्थित बनाउँदै आवश्यक पूर्वाधार विकास गरेमा रुद्रताल पर्यटकको आकर्षक गन्तव्य बन्न सक्ने उनले बताए । (रासस)