बिस्केट जात्राका लागि नयाँ सुरक्षा व्यवस्था (भिडियो) • Image Khabar Image Khabar


बिस्केट जात्राका लागि नयाँ सुरक्षा व्यवस्था (भिडियो)


Imagekhabar
२३ चैत्र २०७४, शुक्रबार १७:०४

बिस्केट जात्राका लागि नयाँ सुरक्षा व्यवस्था (भिडियो)

जात्रामा ठूलो संख्यामा दर्शनार्थी ओइरिने हुँदा सुरक्षा व्यवस्था पनि कडा बनाइन्छ । यस वर्षको सुरक्षा व्यवस्था भने बिगतभन्दा फरक बनाइदैंछ ।

जात्रामा कुनै दुर्घटना हुन नदिनु व्यवस्थापनका लागि ठूलो चुनौती नै बन्ने गरेको छ । त्यसैले यस वर्ष पनि व्यवस्थापन पक्षले सजगता अपनाउँदै जात्राको सुरक्षा व्यवस्था बलियो बनाउँदैछ ।

प्रहरी प्रशासनले मात्र नभइ यस वर्षको जात्रामा सुरक्षाका लागि भक्तपुरका स्थानीय पनि जुट्दै छन् । जात्रा सुरक्षित सम्पन्न गर्न सचेतताका लागि पर्चा, एफ.एम, पत्रपत्रिका, टेलिभिजन, सभाजस्ता माध्यमबाट सूचना सम्प्रेषण गरिँदैछ ।

त्यसैगरी जात्राभर एम्बुलेन्स सेवा तयारी अवस्थामा राखिने छ भने यस अवधिमा मादक पदार्थ बिक्रीमा नियन्त्रण गरिने छ । विगतभन्दा सिसी क्यामेरा पनि थपिएको छ ।

प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल यस वर्षको जात्रा सुरक्षित बनाउन कडा व्यवस्था गरिएको बताउँछन् ।

भैरवनाथको रथ तान्ने क्रममा माथिल्लो र तल्लो टोलबीच झगडा हुँदा इट्टा प्रहार हुने त्यसबाट मानिस घाइते र मृत्युसमेत हुने दृष्टान्त रहेकाले प्रहरी सचेतता निकै बढाइएको छ । अपराधिक गतिविधि गर्न खोज्ने जोकोहीलाई तत्काल पक्रन निर्देशन दिइएको छ ।

यस पटकको बिस्केट जात्रा स्थानीय सरकारको उपस्थितिमा हुने भएकाले पनि अलिक बढी व्यवस्थित र सुरक्षित हुने भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिको विश्वास छ ।

यस वर्ष रथमा पनि अत्यावश्यक र गुठियारका गरी २०/२२ जनालाई मात्र चढ्न दिइने जात्रा सहयोग समितिका अध्यक्ष न्हुच्छेराम भेलेले बताए ।

भैरवनाथ रथका नाइके माइला छुकानं पनि बिगतभन्दा यस वर्ष जात्रा व्यवस्थित हुने बताउँछन् ।

निकै ठूलो संख्यामा मानिस आउने हुँदा सुरक्षा व्यवस्था सँधैका लागि चुनौती बनेको छ । सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउनु प्रशासन र सुरक्षाकर्मीको मात्र दायित्व नभई सर्वसाधारण र स्थानीयको पनि उत्तिकै जिम्मेवारी हो ।

भिडियो हेर्नुहोस्

 

प्रतिक्रिया दिनुहोस्