१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


समृद्धि साझा लक्ष्य : प्रधानमन्त्री ओली


0
Shares

आफ्ना भारतीय समकक्षीसँगको प्रतिनिधिमन्डलस्तरीय द्विपक्षीय वार्तापछि संयुक्तरुपमा पत्रकारहरुलाई सम्बोधन गर्दै उनले सामाजिक–आर्थिक विकास र समृद्ध नेपाल निर्माण आफू नेतृत्वको सरकारको लक्ष्य र उद्देश्य भएको बताए ।

उनले भने–‘संक्रमणकालको अन्त्यसँगै आर्थिक विकासको युगमा नेपाल प्रवेश गरेको छ । यस्तो अवस्थामा छिमेकीको हामीलाई साथ, सहयोग र समर्थन चाहिन्छ ।’

पारस्परिक विश्वासमा आधारित नेपाल–भारत सम्बन्धलाई नमुनाकारुपमा विकास गर्ने नेपालको चाहनालाई मुखरित गर्दैै उनले त्यसनिम्ति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट निर्वाह भएको भूमिकाको सराहना गरे ।

समानता, न्याय, पारस्परिक सम्मान र हित नेपाल र भारतका साझा प्रारब्ध भएका चर्चा गर्दै प्रधानमन्त्री ओलीले शान्तिपूर्ण सहअस्तित्व तथा दुई देशबीचको सहयोगात्मक सम्बन्धलाई अझ सुदृढ एवं प्रगाढ बनाउने बताए ।

प्रधानमन्त्री ओलीले उच्च राजनीतिक तहमा हुने भेटवार्ताले सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने र बहुआयामिक द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल गर्न यस्ता भेटवार्ता महत्वपूर्ण हुने बताए ।

दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने उपाय र पारस्पारिक लाभका खातिर अवसरहरुको खोजी गर्न आफू भारत भ्रमणमा आएको स्पस्ट गर्दै उनले प्रधानमन्त्री मोदीसँग आपसी सम्बन्धका सबै विषयमा विचार–विमर्श भएको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले शताब्दीऔं पुरानो नेपाल–भारत सम्बन्धका सबै पक्षलाई २१औं शताब्दी सुहाउँदो तुल्याउन दुवै देशका उच्च कूटनीतिक तहमा गठन भएको प्रवुद्ध व्यक्ति समूह (इपीजी)लगायत सबै विषयमा रचनात्मक छलफल भएको जानकारी पनि दिए ।

बितेका दुई दशकमा भारतले हासिल गरेको विकास र समृद्धि नेपालका निम्ति अवसर भएको बताउँदै उनले नेपालीलाई ‘सुखी’ तुल्याउने आफ्नो प्रयासमा भारतबाट सक्दो सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार निर्माण तथा स्थल, जल र नभमार्गबाट नेपाललाई सम्पर्क सञ्जालमा समावेश गर्ने आफ्नो उद्देश्य पूरा गर्न भारतीय प्रधानमन्त्री मोदीले समुद्रसम्मको पहुँच नेपाललाई उपलब्ध गराउने घोषणा गरेकामा हार्दिक आभार व्यक्त गरे ।

उनले नेपालको उपयोग हुन नसकेको अपार जलस्रोतको विकासमा लगानी गर्न भारतका निजी तथा सार्वजनिक क्षेत्रलाई आह्वान गरे र माथिल्लो कर्णाली, अरुण तेस्रो, पञ्चेश्वरलगायत विशाल परियोजनालाई गति दिन आग्रह गरे ।

प्रधानमन्त्री ओलीले दुवै देशका ऊर्जा आवश्यकता सम्बोधन गर्न ऊर्जा बैंकको स्थापना, नयाँ प्रशारणलाइन निर्माण, बाढी तथा डुबान नियन्त्रणलगायत दुवै देशका जनताले भोग्नुपरेका समस्याको उपयुक्त समाधानका निम्ति संयुक्त प्रयास गर्न प्रधानमन्त्री मोदी सहमत भएको बताए ।

प्रधानमन्त्री मोदीले आफ्नो सम्भाषणको प्रारम्भ नेपाली भाषामा गर्दै आफ्नो ‘सबैको साथ, सबैको विकास’ नारा र आफ्ना नेपाली समकक्षीको ‘समृद्ध नेपाल : सुखी नेपाली’ नारा एकर्काका परिपूरक भएको बताए ।

‘जनताको सुख, शान्ति र समृद्धि हाम्रा साझा लक्ष्य हुन्, त्यसमा नै हामी केन्द्रित छौं, जनताका आकांक्षा हामी पूरा गर्छौं’–उनले भने–‘नेपालको समावेशी विकासको भारत साझेदार बन्नेछ ।’

स्थानीय निकाय, प्रान्त र संघीय संसदको चुनावलाई नेपालको ठूलो उपलब्धिकारुपमा चित्रण गर्दै भारतका प्रधानमन्त्री मोदीले राजनीतिक इतिहासको नयाँ युगमा नेपाल प्रवेश गरेको बताए ।

नेपालका प्राथमिकता र आवश्यकतामा भारतले सघाउँछ
प्रधानमन्त्री मोदीले नेपालको आर्थिक उन्नयन र समृद्धिको प्रयासमा पूर्णरुपले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपाल सरकारले निर्धारण गरेका विकासका प्राथमिकता र आवश्यकतामा आधारित भएर सहायता गर्ने बताए ।

‘भारत र नेपाल कृषिप्रधान देश हुन्, कृषि क्षेत्रमा नयाँ साझेदारी गर्न हामी तयार छौं । पशुपालन, माटो परीक्षण, कृषि शिक्षा र कृषि अनुसन्धानमा सहयोग बढाउनेछौं’– भारतीय प्रधानमन्त्रीले घोषणा गरे ।

‘सगरमाथाको देशको अब सागरसम्म सम्पर्क स्थापना हुनेछ’, समुद्रसम्म नेपालको पहुँच स्थापनामा भारतले सघाउने र नेपाल भू–परिवेष्टित देश भएपनि भूमिबाट सम्पर्क स्थापना गर्न सक्षम राष्ट्र बनेको आशय व्यक्त गर्दै उनले भने ।

आफ्नो मन्तव्य पुनः नेपाली भाषामै समापन गर्दै प्रधानमन्त्री मोदीले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, रक्षा, सुरक्षालगायत जनकेन्द्रित क्षेत्रमा निरन्तर सहयोग वृद्धि गर्ने घोषणा पनि गरे ।