
शनिबार जिल्ला प्रहरी कार्यालय खोटाङको नवनिर्मित भवन उद्घाटन गर्दै महानिरीक्षक अर्यालले जनसेवाप्रति कटिबद्ध भइ नागरिकको भरोसा बन्न प्रहरी जवानलाई निर्देशन दिए ।
उनले नेपाल प्रहरीको अठोट जनताको सहभागितामामात्र पूरा हुने उल्लेख गरे ।
उनले केही प्रहरीको गैरव्यावसायिक गतिविधिले सिंगो प्रहरी संगठनलाई बदनाम गरेको भन्दै गलत क्रियाकलापमा संलग्नलाई कारबाही हुने बताए ।
‘केही प्रहरीबाट मानवीय त्रुटिहरू भएका छन्, त्यसलाई हामी सुधार गर्दै जानेछौं’–उनले भने–‘नियतवस गैरव्यावसायिक गतिविधिमा लाग्ने प्रहरीलाई क्षमा गर्न सक्दैनौं ।’
३ करोड २२ लाख ४४ हजार रुपैयाँको लागतमा जिल्ला प्रहरी कार्यालयको २२ कोठे भवन निर्माण गरिएको हो ।
प्रहरी प्रधान कार्यालय आवास तथा भौतिक परियोजना महाशाखाबाट डिजाइन गरिएको भवन साल्पा इन्द्रेणी जेभी गाइघाटले चार वर्ष लगाएर निर्माण गरेको हो ।
कार्यक्रममा प्रदेशसभाकी सभासद उषाकला राई, शसस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङ, दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल, प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीलगायतले बोलेका थिए ।
सो अवसरमा भवन निर्माणकाक्रममा श्रमदान गर्ने प्रहरी तथा जग्गादातालाई सम्मानसमेत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्