सातै प्रदेशका सामाजिक विकास मन्त्रीसँग शिक्षा मन्त्रालयको छलफल, संघीय शिक्षा नीति बन्दै

आइतबार सिंहदरबारमा सातओटै प्रदेशका सामाजिक विकासमन्त्रीसँग छलफल गर्दै मन्त्री पोखरेलले केही समयभित्रै संघीय शिक्षा नीति बनाउन मन्त्रालयले गृहकार्य गरिरहेको जानकारी दिए ।
उनले आगामी वैशाख २ गतेबाट विद्यार्थी भर्ना र पाठ्यपुस्तक वितरण अभियान सन्चालनमा मन्त्रालय जुटेको बताए ।
नयाँ शैक्षिकसत्र २०७५ मा विद्यार्थी भर्ना कार्यक्रमका लागि ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ नारा तय गरी विद्यार्थी भर्ना थप प्रभावकारी बनाउन मन्त्रालयले अभियान सुरु गरेको मन्त्री पोखरेलले बताए ।
छलफलमा प्रदेशका सामाजिक विकासमन्त्रीहरुले आधारभूत शिक्षा नीति कार्यान्वयनका लागि मन्त्रालयको ध्यानाकर्षण गरेका थिए ।
उनीहरुले केन्द्रिकृत मान्यताबाट माथि उठेर विकेन्द्रिकृत मान्यताका साथ अघि बढ्न सुझाव दिए ।
प्रदेशमा दक्ष जनशक्ति पठाउन र विद्यालयहरुमा आवश्यक पूर्वाधारको व्यवस्था मिलाउन मन्त्रालयलाई प्रदेश मन्त्रीहरुले अनुरोध गरेका थिए ।