Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


‘द्वन्द्वपीडित बडापत्र’ सार्वजनिक


0
Shares

काठमाडौं, मंसिर ५ । द्वन्द्वपीडितका समस्या र सुझावहरु संकलन गरी तयार पारिएको ‘द्वन्द्वपीडित बडापत्र’ नामक पुस्तिका बुधबार सार्वजनिक गरिएको छ ।

द्वन्द्वपीडित साझा चौतारीले तयार पारेको पुस्तिका सार्वजनिक गर्न राजधानीमा आयोजित कार्यक्रममा सरोकारवालाहरुले विस्तृत् शान्ति–सम्झौता भएको १२ वर्ष पूरा भइसक्दा पनि पीडितले महसुस गर्नेगरी कुनै पनि उपलब्धि हासिल हुन नसकेको बताए ।

संक्रमणकालीन न्याय निरुपण गर्ने उद्देश्यले गठन गरिएको सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका नागरिकको छानबिन आयोगको पुनर्गठन गर्नुपर्ने माग बडापत्रमा उठाइएको छ ।

त्यस्तै, गम्भीर प्रकृतिका मानवअधिकार उल्लंघनमा क्षमादान आफूहरुलाई मान्य नहुने पनि उनीहरुले बताएका छन् ।

द्वन्द्वपीडितहरुलाई परिपूरणको व्यवस्था गर्नुपर्ने माग पनि बडापत्रमा उल्लेख छ ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले द्वन्द्वपीडितका लागि काम गरिरहेका सबै संघ–संस्थाहरुलाई आफ्ना अधिकार प्राप्तीका लागि संगठित भएर लाग्न सुझाव दिए ।

साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारीले राज्यले आयोगहरुको समयावधि सकिनुअगावै नै पीडितलाई निकास दिने बाटो खोज्नुपर्ने बताए ।