
काठमाडौं, असार १२ । राष्ट्रिय पुनःनिमाण प्राधिकरणले भूकम्पप्रभावितले लिने सहुलियत दरको ऋणको समयावधि बढाउन लागिपरेको जनाएको छ ।
नेपाल राष्ट्र बैंकको नियमअनुसार दुई वर्षसम्ममात्र सहुलियत ऋणको व्यवस्था छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले राष्ट्र बैंकको ऐनको व्यवस्थाअनुसार दुई वर्षसम्ममात्र सहुलियत ऋणको व्यवस्था रहेकाले सरकारले त्यसलाई परिमाजर्नको कसरत गरिरहेको मंगलबार हामीसित बताए ।
यही व्यवस्था रहिरहे भूकम्पप्रभावितहरुले तेस्रो वर्षदेखि ऋण लिएको बैंकको ब्याजअनुसार नै ब्याज तिर्नुपर्ने हुन्छ । हालसम्म २५ ओटा बैंकमार्फत् एक हजारजनालेमात्रै सहुलियत दरमा ऋण लिएका छन् ।
प्राधिकरणले हालसम्म ६० प्रतिशत पुनःनिर्माणको काम सम्पन्न भएको पनि जनाएको छ ।
निजी आवास पुनःनिर्माणअन्तर्गत् हालसम्म १ लाख ८७ लाख ६१९ घर निर्माण सम्पन्न भएको छ भने ४ लाख ९८ हजार ९३३ ओटा घर निर्माण भइरहेको प्राधिकरणले जनाएको छ ।
आर्थिक वर्ष २०७४/७५ मा विनियोजन गरिएको १ खर्ब ४५ अर्ब ९३ करोड रुपैयाँमध्ये हालसम्म ९२ अर्ब ९७ करोड ४९ लाख रुपैयाँ खर्च भएको प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्