६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024


दीर्घकालीन दमः धूमपान गर्ने र धुलो–धुवाँमा बस्नेमा समस्या बढी (भिडियो)


0
Shares

प्रज्ञा तिमल्सिना/राजेन्द्र नापित (इमेज)

काठमाडौं, मंसिर ५ । ‘लाखौंलाई खोजौं, लाखौंको उपचार गरौं’ भन्ने नारासहित बुधबार श्वास–प्रश्वाससम्बन्धी दीर्घकालीन दम अर्थात् (सीओपीडी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

लामो समय धूमपान गर्ने र धुलो–धुवाँमा बस्ने मानिसमा यो समस्या बढी देखिएको चिकित्सकहरु बताउँछन् ।

धूमपान, सुर्तीजन्य पदार्थको सेवन, वायु प्रदूषण र दाउराको प्रयोग गरेर चुलो बाल्ने ४० वर्ष कटेका धेरै मानिसमा श्वास–प्रश्वाससम्बन्धी दीर्घकालीन दम देखिन थालेको चिकित्सकहरु बताउँछन् ।

लामो समय धूमपान र सुर्तीजन्य पदार्थको सेवन गर्ने व्यक्तिमध्ये पनि यो समस्याबाट पुरुषहरु बढी प्रभावित छन् ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जको आकस्मिककक्षमा यस्तो समस्या लिएर आउनेको संख्या बढेको छातीरोग विशेषज्ञहरु बताउँछन् ।

विश्वमा सन् २०२० सम्म मृत्यु हुने कारक रोगमध्ये ‘सीओपीडी’ तेस्रो नम्बरमा पुग्ने अनुमान गरिएको छ ।

यो रोग लागेमा लगातार खकारसहितको खोकी लागिरहने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने, शरीर कमजोर हुने, खान मन नलाग्ने, अक्सिजनको मात्रा कम भइ छालाको रङ नीलो हुनेलगायतका लक्षण देखापर्छ ।

लक्षण देखिएपछि पनि ध्यान नदिने हो भने फोक्सो र मुटुमा नै असर गर्ने छातीरोग विशेषज्ञ डा. निरज बम बताउँछन् ।

जाडोको समयमा बढी देखिने यो रोगबाट दाउरा बाल्ने चुलोबाट निस्कने धुवाँमा बस्ने महिला पनि बढी प्रभावित रहेका छन् ।

यस्तै, प्रदूषणको समस्याका कारण पनि श्वास–प्रश्वासको नली साँघुरिने हुँदा सचेत हुन चिकित्सकहरुले सुझाव दिएका छन् ।

धूमपान नगर्ने, वायु प्रदूषणबाट बच्ने हो भने यस समस्याबाट धेरै हदसम्म बच्चसकिने डा. बम बताउँछन् ।

दिवसका अवसरमा त्रिवि शिक्षण अस्पताल महाराजगन्जले यस रोगसम्बन्धी  निःशुल्क शिविरसमेत राखेको थियो ।

भिडियो हेर्नुहोस्