२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


शवदाह गर्ने घाटकै पानी पिउन बाध्य (भिडियो)


0
Shares

भौगोलिक कठिनाईका कारण खानेपानीका आयोजना नपुग्दा स्थानीयले खोलाको पानी खाने गरेका छन् । मेचीनगर–३ तिम्सिनेबासी त अझ शव जलाउने घाटैको पानी खान बाध्य छन् ।

चुरे क्षेत्रको फेदीमा पर्ने इलामसँगको सिमावर्ती झापाको गाउँ हो तिम्सिने । मेचीनगर नगरपालिका क्षेत्रभित्र पर्ने सो गाउँमा खानेपानीको संकट बर्षौंदेखि छ ।

वि.सं. २०२१ सालमा सो गाउँमा बस्ती बसे पनि हालसम्म पनि शुद्ध खानेपानीको व्यवस्था हुन सकेको छैन । विगतमा भन्दा विकासका गतिविधिले केही गति लिए पनि खानेपानीको समस्याले अहिले पनि सो क्षेत्रका बासिन्दालाई पिरोल्ने गरेको छ ।

दुई दर्जन घरपरिवार बसोवास गर्दै आएको सो गाउँका बासिन्दा अहिले पनि निन्दा खोलाको घाट आसपासबाट पानी ल्याएर खाने गरेका छन् ।

विगतमा सो गाउँका बासिन्दाले भालुखोप खोलाबाट पाइप मार्फत् पानी ल्याए पनि कतिपय घरहरुमा पुग्न सकेन । जसका कारण अहिले पनि खानेपानीको समस्या जस्ताको तस्तै छ ।

नगरपालिका क्षेत्रमा पर्ने भएपनि हालसम्म सो क्षेत्रको खानेपानीको समस्यामा कुनै सुनुवाई नभएको स्थानीय गुनासो गर्छन् ।

मेचीनगरको सोही वडाका भावना चोक, पहलेधाप, डाडाँगाउँमा समेत खानेपानीको समस्या छ । ती सबै क्षेत्रहरुमा खानेपानी पुर्‍याउन पहल भइरहेको मेचीनगर–३ का वडाध्यक्ष हर्क बस्नेतले बताए ।

मेचीनगरका यी गाउँहरुमा मात्रै नभएर बुद्धशान्ति, कमल गाउँपालिका तथा अर्जुनधारा र कन्काई नगरपालिकाका उत्तरी गाउँहरुमा समेत खानेपानीको चरम समस्या छ । स्थानीय सरकार बनिसकेको अवस्थामा अब भने खानेपानीको समस्या पनि चाँडै हल होला कि भन्ने स्थानीयको अपेक्षा छ ।

भिडियो हेर्नुहोस्