२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


घरेलु टिम चौराहा धनगढी डिपीएल क्रिकेटको फाइनलमा प्रवेश


0
Shares

टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १२७ रन बनाएको थियो । १२८ रनको सामान्य लक्ष्य पछ्याएको साविक विजेता टिम चौराहा धनगढीले एक बल बाँकी छँदै नौ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको हो ।

जारी प्रतियोगितामा आफ्ना सबै म्याच जितेको काठमाडौंको यो पहिलो हार हो ।

काठमाडौंका लागि भुपेन्द्र थापा १०, कप्तान ज्ञानेन्द्र मल्ल ३८, अमित श्रेष्ठले २६ र नरेश बुढाऐरले ३६ रन बनाए ।

बलिङतर्फ चौराहाका कप्तान सोमपाल कामी र ललितसिंह भण्डारीले दुई÷दुई विकेट लिए ।

राम्रो सुरुवात गर्न नसकेको धनगढीले ७ रन हुँदा ओपनर युएईका खेलाडी अस्फाक अहमदलाई मात्र एक रनमा गुमायो । अर्का खेलाडी सुनिल धमला ३१ रनको स्कोरमा व्यक्तिगत १३ रन बनाएर पेभेलियन फर्किए ।

त्यसपछि पनि उसको विकेट झर्ने क्रम रोकिएन । ५८ रन बनाउँदा चौराहाका चार खेलाडी पेभेलियन फर्किए । मध्यक्रममा खेलाडीले दरिलो साझेदारी गर्न नसक्दा चौराहाले १०४ रन बनाउँदा सात विकेट खेर फाल्यो ।

धनगढीका विदेशी खेलाडी युएईका कप्तान रोहन मुस्तफाले सर्वाधिक ३३ रन बनाए भने सोनु तामाङले १४ रनको योगदान गरे ।

यस्तै शंकर रानाले २८ रन बनाउँदा उसका ६ खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

अन्तिम ओभरमा जितका लागि १० रन आवश्यक भएकोमा चौराहाले शंकर राना र योगेन्द्रसिंह कार्कीलाई गुमाएको थियो ।

अन्तिम दुई बलमा जितका लागि चौराहालाई ६ रन आवश्यक थियो । जसमा सम्साद शेखले छक्का प्रहार गर्दै टिमलाई फाइनलमा पुर्‍याए ।

अब काठमाडौंले फाइनलमा पुग्न महेन्द्रनगर र अत्तरीयाबीचको विजेतासँग प्रतिश्पर्धा गर्नुपर्ने छ ।