
बिहीबार भएको दोस्रो क्वालिफायर खेलमा महेन्द्रनगर युनाइटेडलाई ५ विकेटले हराउँदै काठमाडौं फाइनलमा पुगेको हो ।
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको महेन्द्रनगरले निर्धारित् २० ओभरमा ९ विकेटको क्षतिमा १४२ रन बनाएको थियो ।
१० रन बनाउँदा ६ विकेट गुमाइसकेको महेन्द्रनगरका लागि भारतीय खेलाडी पुनित मेहरा र आरिफ शेखको जोडीले सम्मानजनक स्थितिमा पुर्याएका थिए । पुनितले ४२ बलमा ५८ तथा आरिफले ४३ रन जोडे ।
यस्तै, करण केसीले १२ बलमा २ छक्काको मद्दतमा २१ रन जोडे । महेन्द्रनगरका ५ जनाले रनको खाता खोल्न सकेनन् ।
बलिङतर्फ काठमाडौंका सन्नी पटेल एक्लैले ६ विकेट लिए । उनले ४ ओभरमा १० रन खर्चंदै महेन्द्रनगरको महत्वपूर्ण विकेट झारे । जारी प्रतियोगितामा एकै खेलमा ६ विकेट लिने सन्नी पहिलो खेलाडीसमेत बनेका छन् ।
जवाफमा काठमाडौंले १८ ओभर २ बलमा ५ विकेटको क्षतिमा विजयी लक्ष्य पूरा गर्यो ।
भारतीय खेलाडी सुबोध भाटीले विस्फोट ब्याटिङ प्रदर्शन गर्दै १८ बलमा ५२ रन बनाए । जारी प्रतियोगितामा कम बलमा अर्धशतक पूरा गर्ने भाटी पहिलो खेलाडीसमेत बनेका छन् ।
यस्तै, काठमाडौंका लागि अमित श्रेष्ठले २६, भूपेन्द्र थापाले १५, कप्तान ज्ञानेन्द्र मल्लले २५ र नरेश बुढाऐरले ७ रनको योगदान गरेसँगै काठमाडौंले फाइनलमा ठाउँ पक्का गरेको हो ।
बलिङतर्फ महेन्द्रनगरका पुनित महेराले २ विकेट लिए ।
खेलको ‘म्यान अफ दी म्याच’ काठमाडौंका सन्नी पटेल घोषित भए । उनले १० हजार रुपैयाँ पाए ।
काठमाडौंले अब उपाधिका लागि घरेलु टोली टिम चौराहा धनगढीको सामना गर्नेछ । पहिलो क्वालिफायरमा काठमाडौं गोल्डेन्सलाई पराजित गर्दै धनगढी फाइनलमा पुगिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्