
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई जानकारी नदिइ एकैपटक तीन सचिवको सरुवा गरेपछि सचिव सरुवामा मन्त्रीको हालिमुहालीमा ब्रेक लाग्ने स्थिति देखिएको हो ।
गत साताको बिहीबार प्रधानमन्त्री ओलीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसँग मात्र परामर्श गरी विभिन्न निकायका तीस सचिवको सरुवा गरेका थिए । यसको जानकारी अधिकांश मन्त्रीले शुक्रबार बिहानमात्र पाएका थिए, जुन दिन प्रधानमन्त्री ओली भारत भ्रमणमा जाँदै थिए ।
माओवादी केन्द्रका मन्त्रीले त प्रधानमन्त्रीले थाहै नदिई सचिव सरुवा गरेको भन्दै असन्तुष्टि जनाउन पार्टी अध्यक्ष पुष्पकमल दाहालको ध्यानाकर्षणसमेत गराए । तर ओलीले सचिव सरुवा हेरफेर नहुने र विपक्षमा दौडधुपमा लाग्ने कर्मचारीलाई कारवाही गर्ने चेतावनीसमेत दिएका छन् ।
उनले प्रधानमन्त्री भएलगत्तै पहिलोपटक सचिव र मन्त्रीहरुलाई डाकेर अब मन्त्रीहरुलाई आफूखुसी सचिव टिपेर लैजान नदिने र मन्त्रीको घरदैलो चहारेको भरमा सचिवको सरुवा–बढुवा नहुने बताएका थिए । प्रधानमन्त्रीको पछिल्लो कदमबाट नेताको घरमा धाउने र उनीहरुको स्वार्थ पुरा गरेकै भरमा महत्वपूर्ण निकायमा सरुवा–बढुवा हात पार्ने कर्मचारीलाई अप्ठेरो परेको छ भने दक्ष कर्मचारीलाई हौसला बढेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री पण्डितले अब मन्त्रीले सचिव रोजेर लैजाने परिपाटी अन्त्य हुने बताए । उनले विषयगत हैसियतमा आफूले सचिवहरु प्रस्ताव गरेको र प्रधानमन्त्रीले सोही अनुसार निर्णय गरेको बताए । –नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्