१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


बिस्केटको लिंगो ढालियो, भैरव र भद्रकालीको रथ जुधाइयो


0
Shares

तान्त्रिक विधिअनुरूप पूजा–अर्चना गरी शनिबार साँझ लिंगो ढालिएर यो जात्रा सम्पन्न गरिएको हो ।

बिस्केट जात्राको चौथो दिन शुक्रबार साँझ ६ बजेर ३३ मिनेटमा भेलुखेलस्थित ल्यासिंखेलमा उठाइएको लिंगो शनिबार ढालिएको हो ।

५५ हात लामो लिंगो तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ढालिएको थियो ।

लिंगो ठड्याउनुअघि लिंगोको कोखा (टुप्पो) मा नाग र नागिनीको प्रतीकस्वरूप दुईओटा ध्वजा बाँधेर अष्टमातृकाका प्रतीक ८ ओटा डोरीले तानेर उक्त लिंगो ठड्याइने प्रचलन रहेको छ । त्यही ८ ओटा डोरीले ८ कुनामा बसेर लिंगो ढालिएको थियो ।

लिंगोको कोखामा झुन्ड्याइएका दुईओटा ध्वजालाई वीरध्वजा, विश्वध्वजा र आकाशभैरवका ध्वजासमेत भनिन्छ ।

भक्तपुरको प्रसिद्घ बिस्केटको लिंगो जात्रा हेर्नाले सुख, समृद्घि, सहकाल आउनाका साथै शत्रु नास हन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको छ ।

लिंगो उभ्याइने र ढाल्ने जात्रा नै बिस्केटको प्रमुख जात्रा हो । मल्ल राजाहरूले भैरवनाथ र भद्रकालीको रथजात्रा समावेश गरी तान्त्रिक पूजा विधि–विधानसमेत थप गरी ८ रात ९ दिनसम्म जात्रा मनाउने प्रचलन थालिएको बताइन्छ ।

लिंगो ढालेपछि ल्योसिङखेलबाट भैरवनाथको रथ गःहिटीमा ल्याएर भैरवनाथ र भद्रकालीको रथ जुधाइएको छ ।

भैरव र भद्रकाली देवदेवीको समागम जात्रा भनेर चिनिने सो रथ जुधाउने कार्यलाई स्थानीय भाषामा ‘द्यो ल्वाकिगु’ भनिन्छ । रासस