इतिहास र बर्तमानलाई साक्षी राखेर कांग्रेसले गर्नैपर्ने काम • Image Khabar Image Khabar


इतिहास र बर्तमानलाई साक्षी राखेर कांग्रेसले गर्नैपर्ने काम


Imagekhabar
२ बैशाख २०७५, आईतवार १७:१३

इतिहास र बर्तमानलाई साक्षी राखेर कांग्रेसले गर्नैपर्ने काम

-लाओस राई:

सानो छँदा बाजेले सुनाउँथे, तिनै कुरा आजसम्म पनि भन्दै हुनुहुन्छ, बार्‍ह छोरा तेर्‍ह नाती बुढाको धोक्रो काँधैमाथि ।’ मतलब जति धेरै छोराछोरी भएपनि सबै काम घर बुढोले गर्नुपर्ने भन्ने अर्थमा । बेलामा नै जिम्मेवारी लिनुपर्छ नत्र छोरो हुनुमा कुनै अर्थ हुन्न भन्ने जस्ता कुरा अझै पनि गर्नु हुन्छ । सानोमा त्यति गहिरो र गम्भीर कुरा बुझ्नै सकिएन, या बुझ्ने प्रयास पनि गरिएन । किनकी पछि नै सिकौंंला जस्तो लाग्दथ्यो । अझै अर्को कुरा पनि भनिरहनु हुन्छ, ‘थोरै भए पुगीसरी धेरै हुँदा गार्‍हो’ । यी दुवै भनाईको अर्थ भने उस्तै उस्तै लाग्छ । सबै जिम्मेवर भएन भने धेरै भएर मात्र केहि हुँदैन भन्ने वा गर्न सकिदैन भन्ने हो ।

भर्खरै सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसको अवस्था र माथिका भनाईहरु जस्तै भयो भन्दा गलतै हुँदैन । किनभने झन्डै आठ लाखको हाराहारीमा क्रियाशिल सदस्य भएको पार्टी बाहिरबाट हेर्दा निकै बलियो देखिन्थ्यो । प्रचार प्रसार पनि अत्याधिक र अत्याधुनिक प्रकारको थियो नै । समग्रमा भन्दा निर्वाचनको तयारी पनि राम्रै ढंगले भएको देखिन्थ्यो । सबै पक्ष राम्रो हुँदाहुँदै पनि किन भयो त लजास्पद हार ? यो सबै भन्दा अनुसन्धान र समिक्षाको विषय भएको छ । अर्को कुरा यी नै बिषयमा केन्द्रित भई बिगत चार महिना देखि बिभिन्न स्तरमा बहस भइरहेका छन् ।

एक पक्षले हारको कारण पार्टीको कमजोर ब्यबस्थापनले भएको नभई बाम गठबन्धन हुँदा बिकसित राजनीतिक माहोलको कारण गर्दा भएको हो भन्ने तर्क राखेका छन् भने, अर्को पक्षले अन्तर्घातको कारण पराजय भोग्नु परेको भन्ने फरक तर्क राख्ने पक्ष पनि उत्तिकै छन् । केही नेताहरु हार्दा अन्तर्घातले गर्दा हारें भन्ने आरोप लगाउने, तर जित्नेले मेरै व्यक्तिगत प्रभाव र लोकप्रियताको कारणले गर्दा मात्र जितेको भन्ने घमण्डको तर्क गर्ने कांग्रेस नेताहरु पनि नभएका होइनन् । हारको पीडाको कारणले गर्दा एक अर्कामा आरोप लगाउने काम मात्रै भएन, धेरै पुरानो पुस्ताका नेताहरुलाई समेत कारबाहीको सिफारिस गरियो । जसमा पचासौं वर्ष अघिदेखि आजसम्म निरन्तर संघर्ष र योगदान गरेका ब्यक्तिहरु समेत परेका छन । उनीहरु आफ्नो निष्ठाको राजनीति समाप्त पार्ने प्रयास गरियो भन्दै आक्रोस ब्यक्त गरिरहेका छन् । निर्वाचन पछि यिनै घमण्ड र आरोप प्रत्यारोप नै कांग्रेस राजनीतिको केन्द्र बिन्दुमा केन्द्रित देखिन्छ । त्यसकारण यिनै बिषयमा केन्द्रित रहेर हारको कारणहरु के-के हुन सक्छ भन्ने जिज्ञासा गर्दा आम रुपमा प्रस्तुत हुँदै आएका केही कारणहरु उल्लेख गर्दा अझै सान्दर्भिक हुन्छ ।

१,कार्यकर्ता निराश, २. कांग्रेस पार्टीको सम्बन्ध गरिवसंग टुट्नु, ३, सामन्ती सस्कार मौलाउनु, ४. परिवारबाद र बशंवाद मौलाउनु ५. ठेक्का सस्कृतिको हाबी हुनु ६. टिकट बितरण राम्रा लाई भन्दा आफ्नालाई गर्नु, ७.युवा आकर्षित कार्यक्रम नहुनु ८. सैद्धान्तिक रुपमा अलमलमा पर्नु, ९. युवानेताहरुले दासता स्वीकार गर्नु जस्ता कारणहरुका साथसाथै अन्य धेरै अदृश्य कारणहरु छन् जसले गर्दा निर्वाचनमा लजास्पद पराजय भोग्नु पर्‍यो । एक पटक ऐतिहासिक पक्षको उल्लेख गरौं २०४६ साल देखि गणतन्त्रको स्थापना गर्दाको बखतसम्म नेपाली कांग्रेस नै सबै भन्दा धेरै पटक सत्तामा रहयो । सत्ता सयरको समयावधीमा एकैछिन स्मारण गर्ने हो भने त्यसमा पनि चित्त बुझाउने ठाउँ भेटिदैन ।

किनकि जनताको आधारभुत आवश्यक्ता सहजै पुरा गर्न नसक्नाले नै माओवादी बिद्रोह सुरुवात कांग्रेस कै पालामा भयो । अत्याधिक महंगी कांग्रेस कै पालामा बढ्यो । युवा बेरोजगारीको संख्या पनि यीनै समयमा भयो । सरकारी स्वामित्वमा रहेको उद्योग तथा कलकारखान प्रायः सबै कांग्रेसकै पालामा बेचियो । खुल्ला बजारको नाममा परनिर्भरताको अवस्था पनि यसै बेला भयो । त्यसकारण सबै पक्ष र कोणबाट हेर्दा सामान्य एक दुईवटा काम बाहेक सबै गलतै गलत गरे भन्ने मात्र देखियो । यति लामो समय भित्र पार्टीले न त कार्यकर्ताको काम गर्‍यो न त जनताको । गरे त केवल आफ्नो । नरनाता र दलाल पुजीपति बर्गको सेवा । यस्ता कुरा पार्टी कार्यकर्ताले मात्र भानिरेह्का छैनन आम जनताले पनि भनिरहेका छन् ।

यसका उदाहरण मध्ये एकै मात्र उल्लेख गर्ने हो भने सरकारी नियुक्ति देखि राजनीतिक जिम्मेवारी सम्मको स्थानमा पहिले श्रीमती, दाजुभाई ,भतिज, त्यसपछीका नाता सम्बन्ध, दोस्रोमा दलाल-उद्योगपति, तेस्रो ठेकेदार, अनिमात्र कार्यकर्ताको खोजी गरिने संस्कार पार्टीमा स्थापित भएपछी पार्टी पराजय हुने नै भयो । बाल नरसिह कुँवर, छोरो जंग बहादुर कुँवर राणा भएर परिवारबादी राजनीतिक सस्कार र परम्पराको सस्थागत बिकास गरे जस्तै कांग्रेसको नेतृत्वले पनि गरेपछी राणा र कांग्रेसमा भिन्नता देखिएन ।

आज सातै प्रदेशमा प्रादेशिक सरकार निर्माण गर्ने हैसियत समेत गर्न नसक्ने अवस्थामा पुगेपछि नेपाली कांग्रेसलाई ऐतिहासिक झड्का लागेको छ । जो ६८ बर्षको लामो राजनीतिक यात्रामा लागेको थिएन । त्यसकारण आजको दिनमा कांग्रेस सदनमा साधारण बिरोध र सदन अबरुद्ध गर्न प्रयास गर्ने पार्टीको रुपमा मात्र उपस्थितको अवस्थामा पुगेको छ । यति धेरै कमजोर उपस्थितिको समयमा पनि के गर्दा पार्टी र संगठन सुध्रिन्छ हुन्छ र आगामी दिनमा शसक्त र प्रभावकारी बनाउन सकिन्छ भन्ने पक्षमा साझा धारणा छिटै ल्याउनु पर्ने थियो । तर ठोस मार्गचित्र ल्याउन सकिरहेको छैन । यस पक्ष पार्टी चुकिरहेको छ भन्दा फरक पर्दैन । सधैं आन्तरिक कलह, कचिङ्गल र गुटगत स्वार्थमा ब्यस्त देखिन्छ । यिनै गतिविधिले गर्दा कांग्रेस झन् कमजोर भन्दै गईरहेको सुभेच्छुकले भनिरहेका छन् । यीनै सुभेच्छाहरुलाई मात्र आत्मसाथ गर्ने हो भने पनि कांग्रेसी नेताहरुको दृढ आत्मबल निर्माण गर्न मद्दत पुग्ने थियो । जसले गर्दा पार्टी निर्माणमा सहायता मिल्नु जाने थियो । तर त्यसतर्फ खासै ध्यान दिएको जस्तो देखिएन । त्यसो हुनाने जुन गतिबिधि, टिका टिप्पणी, आरोप प्रत्यारोप पार्टी भित्र र बाहिर भईरहेको छ, त्यो पार्टीलाई घातक छ । यस्ता गतिबिधि गरिरहनु नै कंग्रेसको आजको दैनिकी भएको छ ।

बदलिंदो राजनीतिक परिस्थिमा नेपाली कांग्रेस पार्टीले कस्तो राजनीतिक अवधाराणा साथ अघि बढ्ने भन्ने कुनै खास मार्ग चित्र वा राजनैतिक बिचारहरु प्रष्ट नगरे पनि गुटको पहिचान दिलाउंदै विभिन्न प्रकारका कोठे छलफललाई सामाजिक संजाल मार्फत ठुलै प्रपोगण्डा गरिरहेका छन् । त्यसकारण त्यस्ता गतिबिधिहरु झट्ट हेर्दा निकै प्रभावकारी जस्तो देखिए पनि बास्तबिकतामा केही नहुने र बिना तुकको गतिविधि हो भन्ने साबित भईसक्यो । किनकि यस्ता प्रचारले न त पार्टी सभापतिलाई जागरुक गरे, न त जनतालाई प्रभावित गर्न सफल भए । त्यसैले यस्ता गतल र असान्दर्भिक गतिविधिले पार्टीलाई भने क्षति मात्र पुर्‍याइरहेको छ ।

यति भनिरहँदा पार्टी सभापतिले सबै ठिकै गरिरहेका छन् भन्न खोजेको पनि होइन । उनी पनि दुई–चार जना नवसामन्तीहरुको घेराबन्दीमा परेका छन् । जसले गर्दा उनको निर्णय पनि जुझारु कार्यकर्ताको पक्षमा हुने कुरै भएन । अर्को बरिष्ठ नेता कुरा गर्दा उनी त झन् नरनाता मिलाउने सानो तिनो काममा नै ब्यस्त देखिन्छन् । त्यसकारण दुवै नेताले आफ्नै पाराले डम्फु बजाउन थाल्नाले परिणाम राम्रो आउने त कुरै भएन । त्यसकारण कमजोरी पार्टी सभापति र बरिष्ठ नेताको नै हो । उनीहरुले गल्ती स्वीकार गर्दै आगामी दिनमा यस्तो गल्ती गर्दिनौ भने प्रतिबद्धता गर्नु पर्दछ र व्यावहारमा उतार्नु पर्दछ ।

तसर्थ समग्र कांग्रेस पार्टीको हिजोको इतिहाँसका कारणले गर्दा गणतन्त्र स्थापनासम्मको यात्रा सहज भयो । तर अवको दिनमा त्यस्तो प्रकारको राजनीतिक सहजता हुनेवाला छैन भन्ने पार्टी सभापतिले हेक्का राख्नु पर्ने थियो । त्यति पनि गर्न सक्दैनन भने उनी माथि निकै ठुलो आरोप लाग्न सक्ने देखिन्छ । किनकी प्रजातन्त्रको जननी मानिने पार्टी कांग्रेस कै नेतृत्वमा भएको निर्वाचनमा बाम गठबन्धन हुनु र तिनैले विजय प्राप्त गर्नुलाई सामान्य मान्नु कांग्रेसका लागि दुर्भाग्य हुनेछ ।

त्यसकारण जुन आवस्थामा पार्टी छ यहि अवस्थाबाट गतिशील हुनलाई यो ढंगको स्प्रिटबाट भने संभव देखिदैन । कांग्रेस पार्टीले हिजोको इतिहास देखाएर भोली चलाउनु खोज्नु हुँदैन । आज हेरेर भोलिको मार्ग चित्र बनाउनु पर्दछ । यसैमा कांग्रेसीजनको भलो हुने थियो । त्यसैले अब कांग्रेस विगत र वर्तमानको जस्तो होइन, भविष्य हाँक्न सक्ने पुस्ताको रगतमा बग्नुपर्छ । भावी र बर्तमान पुस्ताको सिंचित रगतबाट सुदृढ र सवल कांग्रेस निर्माणको अभियान आजैबाट सुरु गरिनुपर्छ । राजनीतिक वितृष्णा बोकेका युवा, विदेशमा रगत पसिना बेचिरहेको शक्ति, विश्वविद्यालयको प्रमाणपत्र बोकेर भौतारिरहेको शिक्षिक पुस्ता, सीप र क्षमता भएर पनि निराश बनेका तन्नेरी, दुईछाक टार्न नसकेर आँशु पिइरहेका गरिब, देश विदेशमा सफलता हासिल गरिरहेका नायक र जेष्ठ नागरिकको भावनालाई आत्मसाथ गर्दै सुदृढ, सक्षम र समय सापेक्ष चल्न सक्ने कांग्रेस निर्माण गर्नुपर्ने तत्कालिन आवश्यक्ता देखिएको छ । यसैमा देशको भलो छ र लोकतन्त्रको सुरक्षा पनि यसमै छ ।

प्रतिक्रिया दिनुहोस्