
राजु चौधरी/ईमेज:
चितवन, वैशाख २ । चितवन राष्ट्रिय निकुञ्जले कर्मचारीहरुलाई माछा खान प्रतिवन्ध लगाएको छ ।
यही वैशाख १ गतेदेखि लागु हुनेगरी दुर्लभ वन्यजन्तु जोगाउन निकुञ्जका कर्मचारीलाई थप जिम्मेवार बनाउन माछा खान प्रतिवन्ध लगाएको हो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले घडियाल गोही संरक्षणका लागि कर्मचारीहरुलाई माछा खान प्रतिवन्ध लगाईएको बताए ।
उनले प्रतिबन्ध विपरीत कसैले माछा प्रयोग गरेको पाइएमा प्रचलित कानुन अनुसार कारवाही गरिने बताए ।
राष्ट्रिय निकुञ्ज कार्यालय अन्तरगतका मूख्य कार्यालय, सेक्टर, हात्तीसार शाखा, रेञ्जपोष्ट, प्रवेशद्धार, पोष्ट तथा सुरक्षा पोष्टलगायत नेपाली सेना र निकुञ्ज कार्यालयका कर्मचारीहरु बस्ने कोर एरिया र मध्वर्ती क्षेत्रमा माछा प्रयोग गर्न पूर्ण प्रतिवन्ध लगाईएको हो ।
सो क्षेत्रमा पोखरीको माछा समेत खान पाइने छैन् । ती क्षेत्रहरुमा निकुञ्जका तीन सय ७६ कर्मचारी र एक हजार भन्दा बढि नेपाली सेना रहेका छन् । यो प्रतिवन्धसंगै निकुञ्ज भित्रको भान्छामा अब माछा पाक्ने छैन् ।
चितवन राष्ट्रिय निकुञ्जले माछा मार्नमा कडाई गरिरहेको छ । अरुलाई माछा मार्न रोक लगाईरहेको बेला आफैबाट संरक्षणको सुरुवात गर्न लागिएको सहायक प्रमुख संरक्षण अधिकृत नुरेन्द्र अर्यालले बताए ।
चितवन राष्ट्रिय निकुञ्ज भित्र पर्ने नारायणी, राप्ती र रिउ नदी निकुञ्ज भित्र पाइने दुर्लभ वन्यजन्तुहरुको आधार क्षेत्र हो ।
घडीयाल गोही पूर्ण रुपमा नदीमा आश्रित विश्वको संकटापन्न प्रजाति रहेकोले यसको संरक्षणका लागि माछा मार्ने कार्यलाई निकुञ्जले नियन्त्रण गर्दै आईरहेको छ ।
विगत केही वर्ष यता नदीमा तियारी जाल, करेण्ट प्रयोग गरी माछा मार्ने क्रम बढ्दै गएको र तियारी जालमा परी घडियाल गोही समेत मर्ने गरेकोले यसमो संरक्षणमा विशेष ध्यान दिइएको निकुञ्ज प्रमुख संरक्षण अधिकृत ढकालले बताए ।
प्रतिक्रिया दिनुहोस्