बम पड्किएर घाइते भएका बालक अस्पतालमा छटपटाउँदै, उपचार गर्न खर्चको अभाव(भिडियो) • Image Khabar Image Khabar


बम पड्किएर घाइते भएका बालक अस्पतालमा छटपटाउँदै, उपचार गर्न खर्चको अभाव(भिडियो)


Imagekhabar
२ बैशाख २०७५, आईतवार १८:३०

बम पड्किएर घाइते भएका बालक अस्पतालमा छटपटाउँदै, उपचार गर्न खर्चको अभाव(भिडियो)

ध्रुव भट्टराई/ईमेज:
विराटनगर, बैशाख २ । उदयपुर त्रियुगा नगरपालिका–१३ पुरानो हवाई फिल्डस्थित थरुहट–त्रियुगा रंगशाखामा बम पड्किएर घाइते भएका १४ वर्षीय पारस राईको उपचारका लागि खर्च नहुँदा समस्या भएको परिवारले जनाएका छन् ।

निम्न आर्थिक अवस्थाका बालकको परिवारले सबैलाई सहयोगको हारगुहार पनि गरेका छन् ।

त्रियुगा नगरपालिका–१३ का मणिकुमार राई चैत २८ गते साँझ घरमा बसिरहेका थिए । एक्कासी उनलाई खबर आयो साथीहरुसँग खेल्न निस्किएको छोरो बम खेलाउने क्रममा विस्फोटमा परेर सख्त घाइते भयो ।

गम्भिर घाइते भएका १४ वर्षे छोरो पारस राईको उपचार विराटनगरस्थित लाइफ गार्ड अस्पताल ल्याइयो र अहिले भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको छ ।

तर, रकम अभावले उनलाई छोराको उपचार पुरापुर हुँदैन कि भन्ने चिन्ताले पिरोलेको छ । सहयोग गर्छु भन्नेहरु थुप्रै आएका छन् । तर अहिलेसम्म कसैले पनि सहयोग गरेका छैनन् ।

औषधि, आइसियु, भेन्टिलेटर चार्ज, अपरेसन चार्ज र खानेबस्ने खर्चको जोहो गर्न आफू असमर्थ रहेको मणिकुमार राई बताउँछन् ।

बालकलाई ल्याउँदा एम्बूलेन्समा लागेको ९ हजार ५ सय बाहेकको खर्च दिनसक्ने अवस्थामा आफू नभएको उनको भनाइ छ ।

डाक्टर अभिषेक चौधरीका अनुसार उनलाई अझै डेढ देखि ३ महिनासम्म उपचारको समय लाग्नेछ । जसका लागि पुरापुर उपचार गर्नका लागि ४ देखि ५ लाख रुपैयाँसम्म लाग्छ ।

अस्पतालले उपचारको क्रम नसकिएसम्म पैसा नमाग्ने बताएको भएपनि औषधिको व्यवस्था भने आफैं गर्न भनिसकेको छ ।

अस्पतालका अध्यक्ष डाक्टर कैलाश श्रेष्ठले आफूहरुले उपचार अवधिभर रकम नमागे पनि डिस्चार्ज गर्ने बेलामा रकम दिनुपर्ने बताउनुभयो ।

यद्यपी, यसखालका बिरामीको उपचारका लागि केही अस्पतालले ट्रमा सेन्टरको विकास गर्नुपर्ने श्रेष्ठको भनाइ छ ।

निम्न आर्थिक अवस्थाले पिरोलिइरहने राईलाई बमको शिकार भएको छोरा बचाउने अर्को पीर थपिएको छ । गत चैत २८ गते साँझ बम विष्फोटमा परेका पारसको घाँटीदेखि मुनिका विभिन्न भागमा बमका छर्रा लागेको छ ।

उपचारमा संलग्न चिकित्स चौधरीका अनुसार बम विष्फोटले बालकको कलेजोमा असर गरेको छ, करङको हड्डी भाँचिएको छ, ठूलो आन्द्राको बोसो बाहिर निस्किएको छ, पेटको दाहिने पट्टी एपेन्डिक्स फुटेको छ र पेटको देब्रेतर्फ ठूलो आन्द्रामा पनि असर देखिएको छ ।

बिना कारण राखिएको बम विष्फोटमा परी घाइते बालकको उपचारमा सरकारी तबरबाटै सहयोग हुनुपर्ने पीडित राई बताउँछन् ।

भिडियो

प्रतिक्रिया दिनुहोस्