२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


थन्क्याउनकै लागि अस्पतालमा आधुनिक उपकरण भित्र्याउँदै, कमिशनको डरलाग्दो खेल !


0
Shares

विभिन्न सरकारी अस्पतालमा आधुनिक उपकरण खरिदका नाममा करोडौं रकम खर्च गरिएको भए पनि त्यस्ता उपकरण प्रयोगमा नआउँदा सर्वसाधारण लाभान्वित हुन सकेका छैनन् । बरु ती उपकरण खरिदबापत जिम्मेवार पदाधिकारीले राम्रै कमिशन पाउने गरेका छन् ।

महालेखापरीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनअनुसार विभिन्न अस्पतालमा उपकरण खरिदका नाममा करोडौं रकम खर्च भए पनि त्यस्ता उपकरण प्रयोगमा नआएको उल्लेख छ । उपकरण प्रयोगमा ल्याउन पहल नगर्ने तर खरिदमा चासो राख्ने प्रवृत्ति बढ्नुको मुख्य कारण भनेकै त्यस्ता उपकरण खरिदबापत आउने कमिशन रहेको जानकारहरु बताउँछन् ।

महालेखापरीक्षक कार्यालयको वार्षिक प्रतिवेदनअनुसार मेची अञ्चल अस्पतालमा एक करोड भन्दा बढीको लागतमा विभिन्न उपकरण खरिद भएको छ । इएनटी माइक्रोस्कोप, रिआर्म मेसिन, फ्लेक्जिबल न्यासो फयारिइगोस्कोप, एनेस्थेसिया विथ भेन्टिलेटर, इन्डोस्कोपी मेसिन, अल्ट्रासाउन्ड मेसिनलगायत खरिद गरिए पनि अस्पतालमा ती उपकरण प्रयोगमा आएका छैनन् । प्रतिवेदनअनुसार ती उपकरण सञ्चालन गर्ने जनशक्तिको अभावमा प्रयोग हुन नसकेको हो ।

उपकरण सञ्चालन गर्ने जनशक्ति तयार नै नगरी खरिदका लागि हतार गर्नुको उद्देश्य कमिशन नै रहेको जानकाहरुको भनाइ छ ।

भक्तपुर अस्पतालमा पनि आइसियु उपकरणका लागि एक करोड २२ लाख रुपैयाँ भन्दा बढी रकम खर्च गरिएको छ । आर्थिक वर्ष २०७२/०७३ मै उपकरणका लागि खर्च गरिए पनि सञ्चालन गर्ने जनशक्ति नहुँदा थन्क्याएर राखिएको छ ।

जनशक्तिका कारण मात्र होइन, उपकरण राख्ने स्थान नै नहुँदासमेत अस्पतालले खरिदमा चासो देखाएको पाइएको छ । प्रतिवेदनअनुसार नारायणी उपक्षेत्रीय अस्पतालले एक थान डायलासिस मेसिन खरिद गरेको भए पनि स्थान अभावका कारण जडान गर्न सकेको छैन । उपकरण राख्ने स्थान नै नहुँदा किन खरिदमा चासो देखाइन्छ ? बुझ्न असजिलो भने छैन ।

शुक्रराज ट्रपिकल अस्पताल, सगरमाथा अञ्चल अस्पताल, धवलागिरी अञ्चल अस्पतालले विभिन्न उपकरण खरिद गर्दै थन्क्याएका छन् । शुक्रराज ट्रपिकल अस्पतालले झण्डै दुई करोड रुपैयाँको उपकरण थन्कयाएको हो । उपकरण सञ्चालन गर्ने जनशक्तिको अभावमा त्यस्ता उपकरण थन्क्याइएको प्रतिवेदनमा उल्लेख छ ।