
आफ्नो आमालाई माया गर्न वा सम्झन कुनै दिन, मिति या तिथि कुर्नुपर्दैन । तरपनि हिन्दुधर्ममा बेग्लै महत्व बोकेको यो तिथि हो, मातातीर्थ औंसी । आमाकै लागि समर्पित दिन हो यो ।
छोराछोरीहरुले यसदिन आफ्नी आमालाई मीठो–मीठो खानेकुरा खुवाउने र उपहार दिएर आशिर्वाद थाप्ने गर्छन् ।
आमा हुनेहरुले आफ्नी आमाको मुख हेर्ने र आशिर्वाद माग्ने चलन छ भने नहुनेले काठमाडौंको चन्द्रागिरि नगरपालिकामा पर्ने मातातीर्थमा पुगेर आफ्नी दिवंगत आमाप्रति श्रद्धाभाव चढाउँछन् ।
आमा दिवंगत भएका भक्तजनहरुले तीर्थस्थलमा रहेको कुन्डमा स्नान गरेपछि आफ्नी आमाको मुक्तिको कामना गर्दै तर्पण दिन्छन् ।
दिवंगत माताको स्मरणमा कुन्डमा स्नान गरी पवित्र मनका साथ तर्पण गरेर पोखरीमा हेरेमा जन्मदिने माताको स्वरुपको दर्शन पाइने जनविश्वास पनि छ ।
त्यहाँ गर्ने कर्मकान्डबाट मृतात्माले मोक्ष पाउने र सन्तानले जीवनभर सुख–सन्तोष पाउने विश्वास पनि छ ।
देशभरबाट मातातीर्थ पुग्नेको लक्ष्य एउटै थियो, धर्ती देखाउने आफ्नी आमाको स्मरणमा गच्छेअनुसार केही न केही गर्ने ।
तीर्थस्थलमा रहेका पुजारी पनि यसदिन दिवंगत आमाको सम्झनामा दान, श्राद्ध गरे मृतात्माले मुक्ति पाउने बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्