बिराज रोस्यारा
कैलाली, मंसिर ४ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले बहुमत प्राप्त कम्युनिष्ट सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाएका छन् ।
मंगलबार धनगढीमा प्रेस युनियन कैलालीद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले वर्तमान सरकार मुलुकमा शान्ति सुरक्षा कायम गर्न असफल भएको आरोप लगाए । प्रदेश प्रहरी ऐन समयमा नबन्दा प्रदेश सरकारले प्रदेशका जनतालाई सुरक्षा दिन नसकेको उनको भनाइ थियो ।
उनले प्रदेश सरकारले पाउनु पर्ने अधिकार संघीय सरकारले आफैँसँग राखेको आरोप लगाए । अधिकार नपाउँदा प्रदेश सरकार नाममा मात्र सीमित भएको बताउँदै उनले प्रदेश प्रहरीदेखि विभिन्न अधिकार केन्द्रले नै रोकेर राखेको टिप्पणी गरे ।
नेपाली कांग्रेसको नेतृत्वमा प्राप्त उपलब्धी बहुमत प्राप्त कम्युनिष्ट सरकारबाट गुम्ने चिन्ता बढ्दै गएको उनले बताए । देशमा तीनै तहको निर्वाचन सम्पन्न भई सरकार बने पनि संघीय सरकारले आवश्यक कानुन निर्माण नगर्दा स्थानीय तह र प्रदेश सरकारको औचित्यमाथि प्रश्न उठ्ने बेला आएको उनको भनाइ थियो ।
फरक प्रसंगमा निधिले कांग्रेसभित्र रहेको समस्यालाई छिटै समाधान गरिने बताए । पार्टीभित्रको गुट–उपगुटका कारण कांग्रेस कमजोर नहुने उनले बताए ।









प्रतिक्रिया दिनुहोस्