
काठमाडौं, बैशाख ८ । नेकपा एमाले र नेकपा माओवादीबीच पार्टी एकताका विषयमा आज पनि छलफल हुँदै छ ।
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज छलफल हुन लागेको हो ।
दिउँसो छलफल हुने भनिए पनि समय र स्थान भने तय हुन बाँकी छ ।
पार्टी एकता संयोजन समितिले वैचारिक र सांगठनिक कार्यदलका प्रतिवेदनलाई अन्तिम टुंगोमा पु¥याउन दुई अध्यक्षलाई जिम्मेवारी दिएको छ ।
यस विषयमा दुई अध्यक्षबीच हिजो पनि गम्भीर छलफल भएको थियो । छलफल सकारात्मक भएको दाबी गरिए पनि ठोस सहमति भने भइसकेको छैन ।
एकीकृत पार्टीको केन्द्रीय समितिमा दुबै पार्टीको बराबरी हैसियत हुनुपर्ने अडान दाहालले राख्दै आउनुभएको छ ।
तर प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओली भने माओवादीलाई केन्द्रीय समितिमा समान हैसियत दिने पक्षमा देखिएका छैनन ।
मुख्यतया यही विषयमा दुई दलका अध्यक्षबीच आज कुरा हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्