
पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनयनको तयारी गरिरहेका बेला वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर भने दुई महिनामा सक्नुपर्ने पदाधिकारी मनोनयन दुई वर्ष बितिसक्दा पनि नगरेकाले अब महासमिति बैठकपछिमात्र गर्नुपर्नेमा छ ।
नेपाली कांग्रेसको विधानअनुसार महाधिवेशन सकिएको दुई महिनाभित्र अर्थात् २०७३ वैशाख/जेठभित्रै केन्द्रीय समितिले पूर्णता पाइसक्नुपर्ने थियो । तर, महाधिवेशन भएको दुई वर्ष बित्दासमेत केन्द्रीय समिति पूर्ण बनाइएको छैन ।
केन्द्रीय विभागहरु त गठनको प्रक्रियामै छैनन् । पार्टीमा रिक्त तीन पदाधिकारी र केही सदस्य मनोनयनको काम अझै गरिएको छैन ।
पार्टी सभापति देउवाले आफ्नै गुटभित्रको आन्तरिक व्यवस्थापन मिलाउन नसक्दा पदाधिकारी मनोनयन गर्न नसकेको देउवानिकटहरु नै बताउँछन् ।
नेता खुमबहादुर खड्काको निधनपछि पदाधिकारी मनोनयन गर्ने विषयले चर्चाचाहिँ पाएको छ । सभापति देउवा पनि जारी केन्द्रीय समिति बैठकको अन्त्यसम्ममा पदाधिकारी मनोनयन गर्ने मनस्थितिमा छन् ।
देउवानिकट नेता डा. प्रकाशशरण महतले पदाधिकारी मनोनयनमा खासै समस्या नभएको भन्दै पार्टी सभापतिले जारी केन्द्रीय समितिको अन्त्यतिर पदाधिकारी प्रस्ताव गर्ने बताउँछन् ।
सभापतिले ल्याएको प्रस्ताव सहजै पास हुने अवस्थामा रहेको महतको भनाइ छ ।
देउवाले विमलेन्द्र निधिलाई उपसभापति, पूर्णबहादुर खड्कालाई महामन्त्री र मानबहादुर विश्वकर्मालाई सहमहामन्त्री बनाउने तयारी गरेका छन् । तर, वरिष्ठ नेता पौडेल पक्षधर भने तत्काल पदाधिकारी मनोनयनको आवश्यकता नभएको बताउँछन् ।
निर्वाचनअघि नै गरेको भए संगठन चलायमान हुने तर्क गर्ने पौडेल समूहका नेताहरु अब पार्टीको महासमिति बैठकपछिमात्र पदाधिकारी मनोनयन गर्नुपर्नेमा छन् ।
केन्द्रीय सदस्य नवीन्द्रराज जोशी महासमिति बैठकमा निर्वाचनलगायतका विषयमा निर्मम समीक्षा गरी प्रदेशिक संरचनाअनुसार विधान बनाएरमात्र पदाधिकारी मनोनयन गर्नुपर्ने बताउँछन् ।
एउटै झन्डाभित्र अलग–अलग पार्टीजस्ता देखिने कांग्रेसीहरु निर्वाचनमा यति नमीठो हार व्यहोर्दा पनि आफैंभित्रको लडाइँमा रमाइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्