Logo ६ श्रावण २०८३, बुधबार | Thu Jul 23 2026


कांग्रेस बैठकमा पराजयबारे गम्भीर समीक्षा, कुलबहादुरले राखे यस्तो प्रस्ताव


0
Shares

काठमाडौं, वैशाख ९ । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा हालैसम्पन्न निर्वाचनमा पार्टी पराजित भएकोबारे समीक्षा भएको छ ।

पार्टी कार्यालय सानेपामा भएको बैठकमा आफ्नो धारणा राख्दै केन्द्रीय सदस्यहरुले आफ्नै नेतृत्वको सरकारले चुनाव गराउँदा पनि पार्टी किन हा¥यो भन्दै नेतृत्वसँग जवाफ मागेका छन् । २०७४ सालमा गराइएको स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचनमा कांग्रेस पराजित भएको हो ।

उक्त निर्वाचनमा समग्रमा कांग्रेस दोस्रो स्थानमा रहे पनि संघीय संसदको प्रत्यक्षतर्फ तेस्रो दलमा खुम्चिएको छ । सभापति शेरबहादुर देउवाले हारको जिम्मेवारी लिनुपर्ने आवाज नेता रामचन्द्र पौडेल पक्षले उठाइरहेका छन् भने देउवा पक्ष एमाले–माओवादी गठबन्धनका कारण पार्टी पराजित भएको भन्दै सभापतिलाई मात्र दोषको भागिदार बनाउन नहुने जिकिर गरिरहेको छ ।

बैठकमा सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनयनको प्रस्ताव भने नराखेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनले निर्वाचन समीक्षा सकाएपछि पदाधिकारी नियुक्तिको विषयले प्रवेश पाउने बताए ।

कांग्रेसको विधानमा निर्वाचित केन्द्रीय सदस्यमध्येबाट एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री सभापतिले मनोनित गर्ने व्यवस्था छ । महाधिवेशन भएको दुई महिनाभित्र पार्टी सभापतिले पदाधिकारी मनोनित गर्नुपर्ने भए पनि देउवाले दुई वर्ष गुज्रिनै लाग्दासमेत मनोनित गरेका छैनन् । नेतृत्वको सुस्त शैलीको पार्टीभित्रै चर्को आलोचना भइरहेका बेला सभापति देउवाले पदाधिकारी मनोनयनको तयारी भने गरेका छन् ।

कुलबहादुरको यस्तो प्रस्ताव

बैठकमा नेता कुलबहादुर गुरुङले पार्टीको सबै कमिटी भंग गरी सबै तहको अधिवेशन गरेर आगामी ६ महिनाभित्र महाधिवेशन गर्न प्रस्ताव गरेका छन् ।

बैठकमा लिखित धारणा राख्दै नेता गुरुङले १३ औं महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति प्रस्ताव गर्नु गल्ती भएको भन्दै आत्मालोचना गरेका छन् । देउवाले सभापति र प्रधानमन्त्रीका हैसियतबाट निर्वाह गरेको भूमिकाबाट आफू दुःखित भएको भन्दै उनले आफ्नो विश्वास र पार्टी सिद्धान्त विपरित देउवाले गुटलाई प्रोत्साहित गरेको, विधान बमोजिमका मनोनयन नगरी पार्टीलाई ध्वस्त बनाएको आरोप लगाए ।

यद्यपि चुनावी हारको जिम्मा संसदीय बोर्डका सबै सदस्य र केन्द्रीय कार्यसमितिले लिनुपर्ने गुरुङको भनाइ छ । विधान विपरीत बनेको संसदीय बोर्डका सबै सदस्यले टिकट लिएको तर चारजनाले मात्र जितेको भन्दै योभन्दा लज्जाको विषय अरू के हुन्छ भनेर उनले प्रश्न गरेका छन् ।

निर्वाचन समीक्षा र समसामयिक राजनीतिबारे धारणा तय गर्न चैत ९ गतेबाट केन्द्रीय समिति बैठक बसे पनि चैत १६ गते केन्द्रीय सदस्य एवं पूर्वमन्त्री खुमबहादुर खड्काको निधन भएपछि बैठक स्थगित गरिएको थियो ।