Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


संसदमा पहिलो व्यावसायिक कार्यसूचीको रुपमा चिकित्सा शिक्षा विधेयक आउने


0
Shares

काठमाडौं, मंसिर २ । संसदको शिक्षा तथा स्वास्थ्य समिति मातहतको उपसमितिले आगामी संसद बैठकका लागि पहिलो व्यावसायिक कार्यसूचीको रुपमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्ने तयारी गरेको छ ।

उपसमितिको आज बसेको बैठकले उक्त कार्यसूचीको रुपमा समितिको प्रतिवेदन पेश गर्ने गरी उपसमितिले कार्यसम्पादन गर्ने र सोहीअनुरुप समितिमा प्रतिवेदन पेश गर्ने निर्णय गरेको समितिका सचिव जीवराज बुढाथोकीले जानकारी दिए । उपसमितिले त्यसका लागि समितिका सदस्य भैरवबहादुर सिंहलाई सर्वसम्मतिले संयोजक चयन गरेको छ ।

बैठकले विधेयकमा संशोधनकर्ता सदस्यहरुसँग छलफल गर्न व्यवस्थित कार्यतालिका बनाउन सचिवालयलाई निर्देशन पनि दिएको छ ।

बैठकले न्यायाधीश गौरीबहादुर कार्की संयोजक रहेको चिकित्सा शिक्षा जाँचबुझ आयोगको प्रतिवेदन अध्ययनको लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत सरकारसँग प्रतिवेदन माग्ने निर्णय पनि गरेको छ । सरकार र डा. गोविन्द केसीबीच भएको सहमतिअनुसार सत्तारुढ दल नेकपाका प्रमुख सचेतक देव गुरुङले संशोधन दर्ता गरेका छन् ।

चिकित्सा सेवा र शिक्षा सुधारको माग गर्दै आन्दोलनरत डा. केसीले विधेयक संसदबाट पास गर्न ढिलाइ भए पुनः अनशन बस्ने चेतावनी दिएका छन् ।