२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


गगन थापासहित कांग्रेसका ६ युवा नेताले पेस गरे ५१ पृष्ठको दस्तावेज


0
Shares

काठमाडौं, बैशाख ११ । नेपाली कांग्रेसका ६ युवा नेताले शीघ्र महाधिवेशनको माग गर्दै पार्टी केन्द्रीय कार्यसमिति बैठकमा संयुक्त दस्तवेज पेश गरेका छन् ।

आजको बैठकमा केन्द्रीय सदस्य गगन थापाले ५० पृष्ठको दस्तावेज पेश गरेका हुन ।

नियमित प्रक्रियाबाट छिटोमा दुई वर्षमा मात्र महाधिवेशन हुन सक्ने र यसले पार्टीलाई थप क्षति हुने भन्दै उनीहरुले महासमिति बैठकबाटै संशोधित विधान परित गरी शीघ्र महाधिवेशनमा जानुपर्ने माग गरेका छन् ।

निर्वाचन समीक्षा र आगामी कार्यदिशाका सन्दर्भमा ६ भाईले पार्टी नेतृत्व एजेण्डाका आधारमा चयन हुने भएपनि उमेर केही होइन भन्न नसकिने भन्दै सबै किसिमका अतिवादसँगको असंख्य संघर्षले थाकेको नेतृत्वलाई सत्ताको शितल छहारीले शिथिल र यथास्थितिवादी बनाएको टिप्पणी गरेका छन् ।

पुराना मान्छेको स्वभाविक बहिर्गमन र नयाँको आगमन नहुँदा एजेण्डा, विचार र क्षमताको दृष्टिले पार्टी जमेको पोखरी जस्तो भएको भन्दै उनीहरुले पार्टीको चुस्त संगठन चलाउन प्रष्ट सैद्धान्तिक खाका कोरिएको तर, त्यसलाई चलाउने नेतृत्व शिथिल र यथास्थितिवादी भएकाले संगठनमा गतिशिलता नआएको उल्लेख गरेका छन् ।

अहिलेकै नेतृत्वलाई निरन्तरता दिन खोज्नु जनादेश र मतादेशलाई नबुझ्नु हो भन्दै ६ भाईले पार्टी सभापति शेरबहादुर देउवालाई महासमिति र शीघ्र महाधिवेशन गराएर सहजतापूर्वक नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेका छन् ।

अब कम्युनिष्ट गठबन्धन के होला भनेर कुर्ने होइन भन्दै उनीहरुले पाँच वर्षपछिको चुनावमा सबै पार्टी एक ठाउँमा मिलेर चुनाव लड्दा पनि एक्लै बहुमतसहितको पहिलो पार्टी बनाउने बाटोमा लाग्नुपर्नेमा उनीहरुको जोड छ ।

युवा नेताहरु चन्द्र भण्डारी, धनराज गुरुङ, गगन थापा, प्रदीप पौडेललगायतले संयुक्त दस्तावेज पेश गरेका हुन् ।