भूकम्प गएको तीन वर्षः प्राधिकरण भन्छ–‘पुनःनिर्माण सन्तोषजनकरुपमा हुँदैछ’ • Image Khabar Image Khabar


भूकम्प गएको तीन वर्षः प्राधिकरण भन्छ–‘पुनःनिर्माण सन्तोषजनकरुपमा हुँदैछ’


Imagekhabar
११ बैशाख २०७५, मंगलवार २०:५५

भूकम्प गएको तीन वर्षः प्राधिकरण भन्छ–‘पुनःनिर्माण सन्तोषजनकरुपमा हुँदैछ’

भूकम्पमा भएको भौतिक संरचनाको पुुनःनिर्माणका लागि स्थापना भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण स्थापनाको पनि अढाइ वर्ष पुग्न लागेको छ । भूकम्पका कारण झन्डै ८ लाख निजी घर क्षतिग्रस्त भएका थिए ।

सरकारले तीन वर्षमा ७ लाख ६८ हजार बराबर निजी घर पुनःनिर्माण गरिसक्ने लक्ष्य राखेको थियो । तर, हालसम्म जम्मा १ लाख १९ हजार २३३ घरको पुनःनिर्माण सम्पन्न भएको छ । यो लक्ष्यको जम्मा १५ प्रतिशत बराबरमात्र हो ।

प्राधिकरणले भने मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी पुनःनिर्माण सन्तोषजनकरुपमा अगाडि बढिरहेको जनाएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले यो वर्ष निजी आवासमा फड्को मारिएको र अरु साँस्कृतिक सम्पदालगायतका संरचनाहरु पनि प्राधिकरणको समयावधिभित्रै सम्पन्न हुने दावी गरे ।

यस्तै, ३७९ सरकारी भवन, ७ हजार ५५३ शैक्षिक संस्था एवं ७५३ साँस्कृतिक सम्पदा पुनःनिर्माण गर्नुपर्ने सरकारी लक्ष्य रहेको छ ।

अहिलेसम्म २२० सरकारी भवन पुनःनिर्माण सम्पन्न भएका छन् भने १४७ पुनःनिर्माणको चरणमा रहेको प्राधिकरणले जनाएको छ ।

यसैगरी, ३ हजार ६१३ शैक्षिक संस्थाको पुनःनिर्माण भएको र १ हजार ७१९ शैक्षिक संस्था पुनःनिर्माणको चरणमा छन् ।

यस्तै, ७५३ साँस्कृतिक सम्पदामध्ये १०० सम्पदाको पुनःनिर्माण भइसकेको छ भने ३२९ सम्पदा पुनःनिर्माणको चरणमा रहेको प्राधिकरणले जनाएको छ ।

अहिलेसम्म पुनःनिर्माणका लागि जम्मा १ खर्ब २० अर्ब रुपैयाँ खर्च भएको प्राधिकरणको तथ्यांक छ ।

आर्थिक वर्ष २०७१/०७२ मा ४ अर्ब २० करोड, ०७२/०७३ मा ४९ अर्ब र ०७३/०७४ मा ६६ अर्ब रुपैयाँ खर्च भएको हो ।

भूकम्पलगत्तै तत्कालीन सरकारले गरेको अन्तर्राष्ट्रिय दाता सम्मेलनमा दातृ राष्ट्रहरुले पुनःनिर्माणका लागि ४ खर्ब १० अर्ब रुपैयाँ बराबरको सहयोगको प्रतिबद्धता जाहेर गरेका थिए । त्यसमध्ये खोजी तथा उद्धारमा यति खर्च गर्‍यौं भनेर ३ खर्ब ४३ अर्बको खुद प्रतिबद्धता भयो । त्यसमध्ये हालसम्म २ खर्ब ६३ अर्ब बराबरको सहयोग सम्झौता भएको छ ।

सरकारले श्वेतपत्रमार्फत् निजी घर पुनःनिर्माणका लागि १ खर्ब रुपैयाँ बराबर रकम अपुग हुने जनाएको छ ।

भारतले ७५ अर्बको सहुलियत ऋण घोषणा गरेको थियो । तर, त्यो हालसम्म लिन सकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्